रावल समूहका नेतालाई ओलीले भेट्नै नमानेपछी…
काठमाडौं- एमाले एकता पक्षमा रहेका भीम रावल सहितका नेताहरू अन्तिम अवस्थामा आएर एमाले छोड्ने मनस्थितिमा पुगेका छन् । उनीहरूले फोन गरेर अध्यक्ष केपी शर्मा ओलीसँग भेटेरै कुरा गर्न चाहेको बताएका थिए । तर ओलीले भेट दिएनन् ।
‘हामीले भेटेरै कुरा गर्छौं भनेपछि अध्यक्ष ओलीले अहिले समय छैन भन्नुभयो,’ तटस्थ बसेका एक स्थायी कमिटी सदस्यले भने’त्यसो भए कहिले समय हुन्छ त भनेर सोध्यौं । उहाँले जे भन्ने हो फोनमै भन्नुस्, अहिले भेट्ने समय छैन भन्नुभयो ।’
स्रोतका अनुसार ओलीलाई रावलले फोन गरेका थिए । करीब १५ मिनेट भएको कुराकानीमा ओलीले दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत गरेपछि रावललगायतका नेताहरू निराश बनेका हुन् ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन खुकुलो हुने गरी अध्यादेश ल्याएको भोलिपल्टै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित ५८ केन्द्रीय सदस्य र ३१ संघीय संसदका सदस्यले नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेका छन् ।
एमालेभित्रको अन्तरसंघर्षमा नेता नेपाललाई साथ दिएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्तलगायतका नेताहरूले नयाँ दल दर्ताको निवेदनमा हस्ताक्षर गरेका थिएनन् ।
उनीहरूले पार्टी विभाजन हुन नहुने भन्दै एकताको प्रक्रिया जारी राखेको बताएका छन् । यसअघि असार २७ गते भएको दश बुँदेको कार्यान्वयन र १४ सांसदमाथि गरिएको कारवाही फिर्ता गर्नुपर्ने ती नेताहरूको अडान छ ।
तर अध्यक्ष ओलीले १४ सांसदलाई गरिएको कारवाही फिर्ता नलिने अडान लिएका छन् भने दश बुँदे सहमति कार्यान्वयन नगर्ने संकेत देखाएका छन् ।
पछिल्लो समय ओलीले एकता प्रक्रियाका लागि भन्दै प्रयास गरिरहेका नेताहरूलाई भेट्नसमेत मानिरहेका छैनन् ।