निर्वाचन आयोगले भन्यो: ‘ओलीका केन्द्रीय सदस्य चिन्दैनौं’
काठमाडौं – निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पठाएको केन्द्रीय सदस्यको विवरण नचिन्ने जनाएको छ । माधव नेपालले छुट्टै दल दर्ता गर्ने तयारी गरेपछि पार्टीका केन्द्रीय सदस्यको विवरण थपेर पठाएको पत्रमा आयोगले आफूले नचिन्ने जनाएको हो ।
तत्काल विवरण अद्यावधिक गर्न भन्दै केन्द्रीय सदस्यको संख्या थपेर पठाएको पत्रबारे आयोगले अहिले त्यो पत्रमा भएका सदस्य नाचिन्न बताउँदै पुरानै अनुसार सनाखत गर्ने भएको छ । निर्वाचन आयोगले ओलीले पठाएको विवरण पनि तत्काल मान्यता नदिने भएको छ ।
गत मंगलबार पार्टीको निर्णयको आधिकारिक माइन्युटसहित एमालेले केन्द्रीय सदस्यहरूको नाम थपेर २०३ बाट २६० पारेर आयोगलाई विवरण दिएको थियो । स्रोतका अनुसार आयोगले कानुनअनुसार दल दर्ता गर्दाको पार्टीको विधान र त्यस बखत आयोगमा रेकर्ड भएका केन्द्रीय सदस्यको आधारमा अघि बढ्ने तयारी गरेको छ ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेलगत्तै नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । सो अवस्थामा आयोगले एमालेको २०३ सदस्यीय साबिककै केन्द्रीय कमिटीलाई मान्यता दिने भएको हो ।
आयोगले नेपाल पक्षलाई फरक पार्टी ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि सनाखत गर्न आगामी भदौ ९ गते बोलाएको छ । सनाखतका क्रममा नेपाल पक्षले अब २६० को २० प्रतिशत नभई २०३ बाटै २० प्रतिशत पुर्याउँदा हुने भएको छ ।