एमालेको धम्की: लुम्बिनीका सभामुखले राजीनामा नदिए ठेगान लगाइदिने - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एमालेको धम्की: लुम्बिनीका सभामुखले राजीनामा नदिए ठेगान लगाइदिने



काठमाडौं- नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको छ । एमाले लुम्बिनी संसदीय दलले सभामुख घर्तीले प्रदेश सभाको गरिमामा आँच आउने काम गरेको आरोप लगाउँदै पदबाट तत्काल राजीनामा दिनुपर्ने बताएको छ।

एमालेले धम्कीपूर्ण भाषा प्रयोग गर्दै घर्तीले राजीनामा नदिए ठेगान लगाउने चेतावनी समेत दिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमालेले सभामुख घर्तीले पद अनुकूल आचरण नगरेको भन्दै विभिन्न आरोप लगाउँदै धम्की दिएको हो ।

एमालेले सूर्य चिह्नबाट चुनाव जितेका सांसदहरू अजय शाही र विमला वलीलाई सांसद पदमुक्त गर्नका लागि कारवाही सिफारिस गरेको थियो । तर, सभामुखले कारवाही गर्नु नपर्ने भनेर पत्र पठाएपछि एमाले आक्रोशित भएको छ ।

‘सभामुखको पद र मर्यादा अनुकूलको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय व्यवहार गरी संसदीय व्यवस्थाको मूल्य मान्यता प्रतिकूल कार्य गरेका छन्,’ एमालेले भनेको छ । शाही र घर्तीलाई पार्टीबाट निष्काशन गरेको जानकारी तथा सो कार्यान्वयनका लागि अनुरोध गरेर पत्र पठाइए पनि सभामुखले स्वेच्छाचारी निर्णय गरेको एमालेको आरोप छ ।

‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन ।’

यस्तै एमालेले जबसम्म बिमला वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म संसद् अवरुद्ध गर्ने आन्दोलन जारी रहेको जनाएको छ ।