वामदेवले भने: म माधव नेपाल समूहमा गएको छैन, ओलीसँगै छु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

वामदेवले भने: म माधव नेपाल समूहमा गएको छैन, ओलीसँगै छु



काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष वामदेव गौतमले आफू माधव नेपालको समुहमा नरहेको बताएका छन् । नेपाल समुहले गौतमको फोटो ब्यानरमा राखेर प्रचार गरेपछि उनले आफू ओली नेतृत्वको एमालेमै रहेको बताएका हुन् ।

उनले सचिवालय मार्फत नेकपा (एमाले)मा नै रहेको प्रष्टीकरण दिएका छन्। गौतमको सचिवालयले माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) पार्टीसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

यस्तै‚ नेकपा (एकीकृत समाजवादी) पार्टीले गौतमको फोटो राखेर ब्यानर प्रकाशित गरेकोमा आपत्ति जनाएका छन्।

गौतमको सचिवालयले भनेको छ‚ ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होईन।’

एमाले नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आए पनि गौतम अहिलेसम्म एमालेमा नै रहेको प्रष्टीकरण दिइएको छ। अहिले भइरहेको सबैखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको पनि सचिवालयले जनाएको छ।