अष्टलक्ष्मी शाक्यले भनिन्: मलाई दुवै नेताको साथ छ
काठमाडौं- भर्खरै मात्र बागमती प्रदेशको मुख्यमन्त्री बनेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले दुवै समुहमा रहेको बताएकी छन् । उनले आफू मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ् रहेको समेत बताएकी छन् । उनले आफूलाई एमालेका अध्यक्ष र नेता माधव नेपाल दुवैको साथ रहेको बताइन ।
‘म मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ छ । बाहिर कुरा आउँछ अष्ट त के के भयो भनेर । मुख्यमन्त्री पाएपछि अर्कोतिर लाग्यो भन्ने कुरा आयो । यो गलत कुरा हो,’ शाक्यले भनिन् । नेकपा एमालेको काठमाडौं–रामेछाप सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले आफूले माधव नेपाललाई धोका दिएको भन्ने चर्चा गलत रहेको बताइन् ।
उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले गर्न नहुने भन्दै शाक्यले आफू पार्टी एकताकै पक्षमा रहेको बताइन् । माधव नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग गएकै दिन भदौ २ मा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
लामो समय माधव नेपालको साथमा रहेको, पार्टीको विधि पद्धतिको कुरा उठाएर केपी ओलीलाई गाली गरेको तर मुख्यमन्त्री पाएपछि शाक्यले नेपालको साथ छाडेको भन्ने चर्चा राजनीतिक वृत्तमा छ । तर, शाक्यले यसको खण्डन गरेकी छन् ।
उनले भनिन्, ‘गलत सन्देश दिने काम नगरिदिनुहोस् । जे हो त्यही कुरा बाहिर आयो भने मात्रै पार्टी एकतामा हौसला बढ्छ । प्रेरणा मिल्छ ।’ १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न नेतृत्वले मन फराकिलो बनाएर एमालेलाई बलियो बनाउने आफूलाई विश्वास भएको शाक्यले बताइन् ।
बागमती प्रदेशमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल र त्यसबेलामा मन्त्रीहरूसँग छलफल र परामर्श गरेरै काम गर्ने र त्यसो गर्दा नै राम्रो नतिजा आउन सक्ने उनको भनाइ छ ।