चौतर्फी आलोचना भएपछि बाइडेनले गरे आफ्नो बचाउ
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् ।
उनले भनेका छन्, “अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ । अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता ग¥यो, त्यो सही छ ।”
उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताएका हुन् ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले पहिले पनि आफ्नो निर्णयको बचाउ गर्दै आएका छन् । उनले यसअघि पनि पटक–पटक आफ्नो निर्णयमा आफू कटिबद्ध रहेको बताउँदै आएका छन् ।
हाल पनि युद्धग्रस्त रहेको अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । अमेरिकाले समयमै तथा अवैज्ञानिक रूपमा आफ्नो सेना फिर्ता गर्दा अफगानिस्तानलाई तालिबानले कब्जा गरेका भनिएको छ । राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय रहेको बताउँदै आएका छन् ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि १५ अगस्तमा नै तालिबानी सत्तामा पुगेका छन् । आइतबार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए ।
अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनः सत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिक रूपमै अन्त्य भएको छ ।
अफगानिस्तानको सेनाले आफ्नो देश कब्जा हुन नदिन देशको लागि लड्न नसकेको यसअघि पनि बाइडेनले बताएका थिए । अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न नसकेकाले यस्तो अवस्था आएको उनले बताएका थिए ।
अफगानिस्तानमा यो घटना भएपछि अमेरिकाप्रति प्रश्न उठेको बताइएको छ । विश्वका अमेरिकालाई साथ दिएका कतिपय देशले अमेरिकी यस कार्यप्रति प्रश्न उठाउँदै आगामी दिनमा विश्वासको संकट हुन सक्ने जनाएका थिए ।
अमेरिकी राष्ट्रपति बाइडेनले भने यो कसैले प्रश्न गर्ने विषय नभएको र अफगान मुद्दाका कारण आगामी दिनमा विश्वका आफ्ना गठनबन्धन सदस्यसँग अविश्वासको प्रश्न नै नआउने बताएका छन् । रासस÷सिन्ह्वा