पार्टी दर्ता नहुँदै ठाकुर समूहमा खटपट
काठमाडौँ- पार्टी दर्ताका लागि निर्वाचन दिएको निवेदन हेर्न नभ्याउँदै महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीमा विद्रोह सुरू भएको छ ।
पहिले नै खटपट रहेको ठाकुरको समूहमा वरियता विवादका कारण सदस्यहरूले विद्रोह गर्न लागेका छन् । शुक्रबार निर्वाचन आयोगमा दल दर्ताका लागि बुझाइएको ३१ सदस्यीय कार्यकारिणी समितिको नामावलीमा तीन जनाले हस्ताक्षर नै नगर्ने भएका छन् ।
२४ सदस्यीय कार्यकारिणी समिति बनाइएकोमा पछि ७ सदस्य थपिएको थियो । वरियताक्रमको ४ नम्बरमा राखिएका अनिलकुमार झा, ९ नम्बरकी चन्दा चौधरी र पछि थपिएका ७ जनामध्ये दोस्रो नम्बरकी निलम बर्माले हस्ताक्षर नगर्ने भएका छन् ।
झाले वरिष्ठ नेता नराखेकोमा असन्तुष्टि जनाएर हस्ताक्षर नगरेको बुझिएको छ । उनले पूर्वराष्ट्रिय जनता पार्टीको ६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका अहिलेको पार्टीमा रहेका चार जनामध्य महन्थ ठाकुर अध्यक्ष र राजेन्द्र महतो र शरतसिंह भण्डारी वरिष्ठ नेता राखिएको तर आफूलाई नराखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
६ सदस्यीय अध्यक्ष मण्डलमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादव जनता समाजवादी पार्टीमा गएका छन् । अध्यक्ष ठाकुरकी विश्वासपात्रका रुपमा चिनिने चौधरीले महिलालाई मुख्य स्थानमा नराखिएको र वरियतामा पनि तल झारिएको भन्दै असन्तुष्टि जनाएको बताइएको छ ।