राष्ट्रिय दल बन्न ३ प्रतिशत मतको थ्रेसहोल्ड हटाइयो - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

राष्ट्रिय दल बन्न ३ प्रतिशत मतको थ्रेसहोल्ड हटाइयो



काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले राष्ट्रिय पार्टी बन्नको लागि समानुपातिक भोट ल्याउनुपर्ने ब्यबस्था हटाएको छ । यसअघि समानुपातिक प्रणालीमा ३ प्रतिशत मत ल्याएमात्र राष्ट्रिय दलको मान्यता पाउने व्यवस्था थियो ।

सोमबार संसद बैठक स्थगित गरेर सरकारले मंगलबारको आकस्मिक मन्त्रिपरिषद्को बैठकबाट दल विभाजन गर्न सहज पार्ने अध्यादेश ल्याएको थियो । अध्यादेशमा राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक मत ३ प्रतिशत ल्याउनु नपर्ने व्यवस्था गरिएको छ।

एक नेताका अनुसार माधव नेपाल समुहको समानुपातिक मत नगनिने भएकाले यस्तो व्यवस्था गरिएको बताइएको छ ।यो व्यवस्थासँगै नयाँ दलका लागि थ्रेसहोल्ड नलाग्ने भएको छ । दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने र अध्यादेश जारी भएको २१ दिनभित्र प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले दल रोज्न पाउने व्यवस्था अध्यादेशमा छ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ लाई संशोधन गर्दै प्रतिबन्धात्मक वाक्यांश थप गरेको छ। ‘तर, राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका सदस्यहरुले दफा ३३ को उपदफा २ बमोजिम नयाँ दलको गठन गरेमा त्यस्तो दलले समानुपातिक तर्फको प्रतिशत पूरा गर्न आवश्यक हुने छैन’ अध्यादेशमा भनिएको छ।

दफा ५२ मा प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।