माधवले भने: पार्टी विभाजन भयो, ओली सुध्रिए भने चुनावमा तालमेल गर्न सकिन्छ
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले ‘पार्टी पुनर्गठन’ गर्ने भन्दै नयाँ पार्टी बनाउने घोषणा गरेका छन्। उनले आफूपक्षीय जनवर्गीय संगठनको ‘भर्चुअल’ छलफललाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए ।
आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको अन्तिम पहल गर्ने बताएको र त्यसमा आफूले सहमति दिएको उनले सुनाए ।
तर, उनले नयाँ पार्टी खोल्दा पनि एकताको ढोका बन्द नहुने बताए। उनले भने, ‘नयाँ पार्टी खोलिहाल्यौं भने पनि केपी ओलीले सबै गल्ती स्वीकार गर्दा एकताको ढोका खुला हुनेछ।’
उनले भने, नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छट, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । ओली सुध्रिए भने चुनावमा तालमेल गरेर जान सकिन्छ ।’
आफूसँग क्रान्तिकारी विचार भएकाले बलियो हुने विश्वास उनले व्यक्ति गरे। उनले अब वडातहसम्म संगठन विस्तार गर्न र सदस्यको संख्या बढाउन निर्देशनसमेत दिएका छन्।
आगामी निर्वाचनमा अन्य पार्टीसँग तालमेल वा एकता गरेर अघि बढ्ने उनले बताए। कार्यकर्तालाई उनले अहिलेको अवस्थाबाट निराश नहुन आग्रह गरे। उनले भने, ‘कहिले दाहिने र कहिले देब्रे हिँड्नुपर्छ। कहिले एकता र कहिले विभाजन हुन्छ।’