अध्यादेश प्रतिगामी कदम हो, सबैले विरोध गरौँ: गोकर्ण विष्ट
काठमार्डौ- नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले राजनीतिक दल विभाजनका लागि अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् ।
नेता विष्टले सरकारको यो कदम प्रतिगामी भएको भन्दै यसलाई फिर्ता लिन बाध्य पार्न सबैलाई यसको विरोध गर्न अपिल गरेका छन् । एमाले एकताका लागि क्रियाशील माधव नेपाल पक्षका नेता विष्टले अध्यादेश ल्याउने कार्य खेदजनक रहेको र यसले दलहरूप्रति विकर्षण र वितृष्ण पैदा गर्ने बताएका छन् ।
विष्टले भनेका छन्, ‘यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दु:खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’
यसअघि नेपाल समुहमा रहेका नेता विष्ट पछिल्लो समय एकताकै लागि लागिरहेका थिए ।