आफ्ना नेतालाई माधव नेपालको निर्देशन : काठमाडौं बाहिर नजानु, तयार रहनु
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूनिकट नेताहरूलाई काठमाडौं छाडेर बाहिर नजान निर्देशन दिएका छन् । नेता नेपालले पार्टी दर्ता लगायतका प्रक्रिया तत्काल अगाडी बढाउने भन्दै यस्तो निर्देशन दिएको खुलेको छ ।
माधव नेपाल समूहकै लागि सहज हुनेगरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । नेपालले आफूनिकट नेताहरू र केन्द्रीय सदस्यहरूलाई तत्काल दलसम्बन्धि प्रक्रिया अगाडी बढाउनुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन समेत निर्देशन दिएका छन् ।
भीम रावलसहित वार्ता टोलीमा रहेका नेताहरू विभाजनको विपक्षमा उभिएपछि माधव नेपाल तेस्रो र चौथो पुस्ताका नेताहरूलाई लिएर अध्यक्ष केपी शर्मा ओलीसंग कित्ताकाट गर्ने तयारीमा लागेका छन् ।
माधव नेपालनिकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत) लाई नै नयाँ दलका रूपमा अघि बढाउने सम्भावना छ ।
नेपाल पक्षले अध्यादेशका आधारमा एमाले विभाजन गरेपछि नेकपा एकीकृतको दर्ता किताबमा अद्यावधिक गर्नुपर्ने हुन्छ । त्यसका लागि राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेपाल समूह निर्वाचन आयोगमा जानेछ ।