तालिवानले सत्ता गरेपछि चीनले भन्यो : हाम्रो समर्थन छ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

तालिवानले सत्ता गरेपछि चीनले भन्यो : हाम्रो समर्थन छ



बेइजिङ- अफगानिस्तानमा तालिवानले सत्ता गरेपछि चीनले अफगानीस्तानी जनाताको रोजाईको सम्मान गर्ने बताएको छ । जनताको चाहना अनुसार बनेको सरकारको समर्थन गर्ने बताएको छ । विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएको हो।

सोमबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने स्पष्ट पारेको छ। ‘अफगानिस्तानको ४ दशक लामो युद्ध स्थगित भएर शान्ति प्राप्त होओस् भन्ने चाहना ३ करोड भन्दा बढी अफगानी मात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय, क्षेत्र र देशहरूको रहेको थियो’, चिनियाँ परराष्ट्र प्रवक्ता ह्वा छुन यिङले भनिन्।

आइतबार अफगानिस्तानमा तालवानले युद्धको अन्त्य भएको र समावेशी तथा खुला इस्लामिक सरकार गठनका साथै जनताको सुरक्षाको जिम्मा लिने तालिवानी नेताहरूको भनाइमा आफूले ध्यान दिएको पनि प्रवक्ता ह्वाले बताइन्। ह्वाले भनिन्, ‘यी भनाइहरूको कार्यान्वयन हुने र स्थितिको शान्तिपूर्ण रूपान्तरण तथा सबै प्रकारका अपराध तथा आतंकवादको अन्त्य हुनेमा चीन आशावादी छ।’

अफगानिस्तानमा रहेको चिनियाँ दूतावास र कर्मचारीहरूले सामान्य रूपमा आफ्नो काम जारी राखेको बताउँदै ह्वाले अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिकहरू दूतावासको पहलमा अघि नै चीन फर्किए र बाँकी चिनियाँहरू दूतावासको सम्पर्कमा रहेको जानकारी दिइन्।

यसअघि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने घोषणा भएपछि तालिवानका नेताहरूले चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। जुलाई २८ तारिख तालिवान पोलिटिकल कमिटिका प्रमुख बारादार र पार्टीका अन्य नेताहरूसँग बेइजिङ नजीकको थ्यानचिन सहरमा मन्त्री वाङ यीले भेटवार्ता गरेको चिनियाँ विदेश मन्त्रालयको वेबसाइटले उल्लेख गरेको छ।

भेटमा मन्त्री वाङले महत्वपूर्ण छिमेकी भएको नाताले उस्को आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिबारे ब्याख्या गरेका थिए भने अफगानी जनताको हातमा सो मुलुकको भविष्य तथा भाग्य निश्चित हुनेतर्फ जोड दिएका थिए।

तालिवान नेताहरूलाई चीनभित्र सहजै भेटघाट गर्न दिनुले त्यहाँको राजनीतिक परिस्थितिलाई चीनले आधिकारिक मान्यता दिएको ठहर्ने टिप्पणी गरिएको छ। मन्त्रालयको वेबसाइटमा सार्वजनिक तस्बिरअनुसार वाङ यीले व्यक्तिगत तथा सामूहिक रूपमा फोटो खिचाएका छन् जसमा निकै हार्दिकता झल्किएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन्।