काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो



काठमाडौं– अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलाएको छ। सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार तालिवानले काबुल कब्जा गरेसँगै देश छाड्न चाहनेहरुको भीड एयरपोर्टमा बढेपछि अमेरिकी सेनाले गोली चलाएको छ।

डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।

अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ ।

अफगानी व्यवसायी सोएइब बाराकले आफूलाई काम एयरको फ्लाइटबाट निकालिएको बताएका छन् । उनका अनुसार विमानस्थलमा गोली चलेसँगै उडान रद्द गरिएको हो ।

अमेरिकी सेनाले गोली चलाएसँगै एयरपोर्टमा भागदौडसमेत मच्चिएको थियो। अमेरिकी सेनाले भिड नियन्त्रणका लागि हवाई फाइरिङ गरेको समाचारहरुमा उल्लेख छ। अहिले काबुल एयरपोर्ट अमेरिकी सेनाका नियन्त्रणमा रहेको जनाइएको छ।

गोली चलेसँगै विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको जनाइएको छ।