देश छाडेर भागेका घानीले गरे आफ्नो कदमको बचाउ - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

देश छाडेर भागेका घानीले गरे आफ्नो कदमको बचाउ



काठमाडौं- देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो बचाउ गतेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छाडेको प्रतिक्रिया दिएका छन् ।

अफगानिस्तान छाडेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू त्यहाँ भएको भए तालिबान काबुल प्रवेश गरेपछि झडप हुन सक्ने र त्यसले लाखौँको ज्यान खतरामा पर्न सक्ने उल्लेख गरेका छन् ।

देश छाड्ने कार्यलाई उनले कठिन निर्णय भनेका छन् । फेसबुकमा उनले लेखेका छन्- कि म राष्ट्रपति भवनमा जान चाहने तालिबानका अगाडि खडा हुनुपर्थ्यो या आफ्नो प्यारो मुलुक छाड्नु पर्थ्यो । उनले काबुलमा झडप भएको भए करिब ६० लाख जनसङ्ख्या रहेको सहरमा आतंक सिर्जना हुन सक्ने पनि जनाएका छन् ।

उनले तालिबानमाथि पनि निसाना साँधेका छन् । तालिबानले बन्दुकको बलले जित हासिल गरेको उल्लेखे गर्दै घानीले उनीहरूले दिल जित्न भने नसक्ने बताएका छन् ।

अब अफगानिस्तानमा जनधनको रक्षा तालिबानको जिम्मेबारी उनको भनाइ छ । उनले तालिबानलाई अफगानिस्तानको भविष्यका बारेमा योजना बनाउन र उक्त योजना जनतालाई बुझाउन सुझाब दिएका छन् । आफू सधैँ अफगानिस्तानको हितमा काम गर्ने घानीको प्रतिक्रिया छ ।