राजधानी कब्जा गर्न काबुल नजिकै पुगे तालिबानी - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

राजधानी कब्जा गर्न काबुल नजिकै पुगे तालिबानी



काठमाडौं- अफगानिस्तानको राजधानी काबुल फेरि डरको छाँयामा परेको छ। आधाभन्दा बढी अफगानिस्तान कब्जा गरेका तालिवानहरू राजधानी नजिकै पुगेका छन् । तालिबानले शनिबारसम्म अफगानिस्तानका आधाभन्दा बढी प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन् ।

पछिल्लो समय निकै आक्रामक बनिरहेको तालिबान अफगानिस्तानको राजधानी नजिकै पुगीसकेको बताइएको छ । समाचार एजेन्सीहरूका अनुसार तालिबान अब अफगानिस्तानको राजधानी काबुलबाट केबल ११ किलोमिटरको दुरीमा आइपुगेका छन् ।

समाचारमा जनाइएअनुसार काबुलको दक्षिणतर्फ रहेको असयाब चार इलाकामा तालिबानहरू पुगेका छन् । अफगान सरकारले यसको पुष्टि गरेमा यो काबुलबाट सबैभन्दा नजिकमा तालिबानको उपस्थिति हुनेछ ।

२०औं वर्ष विदेशी सेनाले परेड खेलेको अफगानी भूमिमा उनिहरू फिर्ता भएसँगै फेरि तालिबानीको ‘रक्तसंघर्ष’ सुरू भएको छ। अफगानिस्तानका आधाभन्दा धेरै प्रान्तीय राज्य र तिनका केन्द्रहरूमा नियन्त्रण जमाउँदै आएको तालिबान अब देशकै केन्द्रीय राजधानी काबुलतिर अघि बढ्दैछ।

अमेरिका, बेलायत तथा अष्ट्रेलियाले अफगानिस्तानमा सेना पठाएर आफ्ना नागरिक तथा कुटनीतिक नियोगका अधिकारीहरूलाई फिर्ता लैजान सुरू गरेका छन्। यो भय र त्रासले धेरै नागरिकले काबुल छोडेका छन्।

काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार निकै हतासको माहोल थियो। अफगानिस्तानमा काम गरिरहेका विदेशी नियोग, दूतावासका कर्मचारी तथा अफगानी नागरिक काबुल छोड्नका लागि कुनै न कुनै उपाय खोजीहरेका थिए।

काबुलका सडकमा धेरै शिविरहरू बनाइएका छन् जहाँ तालिबानीले कब्जा गरेका इलाकाबाट विस्थापित मानिसहरू छन्। तर तालिबानी लडाकुहरू विस्तारै काबुलको नजिक पुगिरहँदा त्यहाँका नागरिकमा थप डर पैदा भएको छ।

अफगानिस्तानमा कुल ३४ प्रान्तमध्ये आधाभन्दा बढी प्रान्त तालिबान लडाकूको नियन्त्रणमा पुगेको छ। तालिबान लडाकूले नियन्त्रणमा लिएका १८ प्रान्तमध्ये आधा दर्जनभन्दा बढी प्रान्त पछिल्लो २४ घण्टामा मात्रै नियन्त्रणमा लिएका हुन्।

पछिल्लो पटक तालिबान लडाकूको नियन्त्रणमा परेका प्रान्तमा कन्दाहर, हेल्मान्ड, हेरात, बाड्घीस, घोर, लोगार, जाबुल र ओर्जुगान प्रान्त रहेका छन्। ती बाहेक पाक्तीया र वार्डाक प्रान्तका भने राजधानी मात्रै सरकारी नियन्त्रणमा रहेका छन्। अन्य सवै भाग तालिबान लडाकूको नियन्त्रणमा रहेका छन्।

लडाकूले पूर्वमुजाहिद्धिन नेता तथा जमात ए इस्लामी पार्टीका वरिष्ठ नेता इस्माइल खानलाई पनि नियन्त्रणमा लिएका छन्। पछिल्लो समय अफगानिस्तानमा सङ्घर्षरत तालिबान लडाकू बढी आक्रामक देखिएका छन्। उनीहरुले धेरै ठाउँमा आक्रमण गरेका छन भने दैनिकरुपमा विभिन्न ठूला सहर आफ्नो नियन्त्रणमा पार्न सफल भएका छन्। एकपछि अर्को सहर कब्जा गरिरहेको तालिबान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कन्दाहार पनि केही दिन अगाडि नै कब्जा गरेको छ।

कन्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो भने रणनीतिक हिसावले समेत महत्वपूर्ण क्षेत्र हो।अमेरिकी सैनिक फिर्ता भएपछि तालिबान लडाकूको गतिविधि पनि बढी आक्रामक भएको देखिएको छ। उनीहरुको नियन्त्रण बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन्।

संयुक्त राष्ट्रसङ्घलगायतका अन्तरराष्ट्रिय निकायले पनि अफगानिस्तानमा बढ्दै गएको हिंसा र नियन्त्रणको अभियान प्रति चासो र चिन्ता व्यक्त गरेका छन्। अफगानिस्तानका राहतकर्मीले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ।

देशभरि लडाइँ फैलिँदै जाँदा एक करोड ८४ लाख मानिसलाई मानवीय आवश्यकता पर्नसक्ने मूल्याङ्कन गरिएको राष्ट्रसङ्घका मानवीय सहयोगमामिला अधिकारीले बिहीबार बताएका हुन्।