वीरगञ्जमा खुल्यो ५० रुपैयाँमा भरपेट खाना खुवाउने भोजनालय - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

वीरगञ्जमा खुल्यो ५० रुपैयाँमा भरपेट खाना खुवाउने भोजनालय



वीरगञ्ज- वीरगञ्जमा ५० रुपैयाँमा खाना खुवाउने भोजनालय खुलेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गर्दै वीरगञ्जमा ५० रुपैयाँमा खाना खुवाउने भोजनालय खुलेको हो ।

सामाजिक संस्था सानो पाइला समुहले सुरू गरेको देशकै सबैभन्दा सस्तो मूल्यमा खाना खुवाउने यो भोजनालय शनिबारदेखि सञ्चालनमा आएको छ । सानो पाइलाले विशेष गरी वीरगञ्ज महानगरभित्र दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका श्रमिक एवम् न्यून आर्थिक अवस्थाका परिवारलाई लक्षित गरेर भरपेट भोजनालय सञ्चालनमा ल्याएको बताइएको छ ।

संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता अनिल रुंगटाले भोजनालयको उदघाटन गरेका छन् । सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले वीरगञ्जमा पहिलो पटक केही नयाँ सोचका साथ आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई लक्षित गरी ५० रूपैयाँमा भरपेट खाना खुवाइने उद्देश्यले यसलाई अभियानकै रूपमा सुरुवात गरेको बताए ।

उनले वीरगञ्जमा रिक्सा, ठेला चलाउने वा आर्थिक अवस्था न्यून भएका सबैलाई सस्तो मूल्यमा सहज तरिकाले स्वस्थकर भोजन उपलब्ध गराउने उद्देश्य रहेको पनि बताए । ‘रिक्सा, ठेला चालक तथा आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई लक्षित गरी सञ्चालन गरिएकाले उनीहरूलाई सहज र सुलभ तवरले खाना व्यवस्थापन गर्न सकियोस् भनेर बिहान ८ बजेदेखि राति १० बजेसम्म सेवा दिने हाम्रो तयारी छ,’ उनले भने ।