एमाले पार्टी नै पुनर्गठन गर्ने माधव नेपालको उद्घोष - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

एमाले पार्टी नै पुनर्गठन गर्ने माधव नेपालको उद्घोष



काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका सबै ढोका बन्द भए पार्टीलाई नै पुनर्गठन गर्ने उद्घोष गरेका छन् । उनले केपी ओलीको अगाडी झुक्न नसकिने भन्दै जिम्मेवारीबाट पछि हट्न नसकिने बताउँदै यस्तो उद्घोष गरेका हुन्।

नेता नेपालले शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौं आयोजित एक कार्यक्रममा पार्टी एकताका लागि अझै पनि कोसिस भने जारी रहेको बताए। नेता नेपालले भने, ‘पार्टी एकताका लागि हामी अन्तिम पर्खाईमा छौं।’

नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने सहमत भएमा एकताका लागि आफूहरु तयार रहेको बताए। उनले भने, ‘हाम्रो इच्छा र चाहना विभाजन होइन। तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामीपछि हट्नु हुँदैन।’

यद्यपि उनले सकेसम्म एकताकै लागि कोसिस गर्ने बताए। नेपालले भने, ‘अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं। केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाइमा छौं।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए। उनले संविधानको रक्षा, प्रतिगमन हुन नदिन र लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वास मत दिनुपरेको बताए।