लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी : प्रदेशसभाको अधिवेशन बोलाइयो
काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत लिने तयारी गरेका छन् । साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले विश्वासको मत लिने तयारी गरेका छन् ।
यस्तै लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेकाे प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।
साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उनले विश्वासको मत लिने तयारी गरेका छन्।
यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो। त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए।
तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिएका थिए। हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भइसकेका छन्। केसीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा तथा राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।