गच्छदारको आक्रोश: संविधान त्रुटिपूर्ण भएकाले मलाई जग्गाकाण्डमा फसाइयो - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गच्छदारको आक्रोश: संविधान त्रुटिपूर्ण भएकाले मलाई जग्गाकाण्डमा फसाइयो



काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूलाई ललिता निवास जग्गा काण्डमा फसाइएको भन्दै आक्रोश पोखेका छन् । उनले संविधान त्रुटिपूर्ण भएकाले आफू फसेको बताएका छन् ।

उनले आफूलाई फसाउने खालको प्रावधान संविधानमै भएको दाबी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् ।

संविधानमा रहेक त्रुटिका कारण आफ्नो ५० वर्षे राजनीतिक इतिहास समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दुश्मनी साँध्ने काम गरेको बताए । त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको भनाइ छ ।

बुधबार विश्व आदिवासी दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा गच्छदारले संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम तत्कालीन राज्यले गरेको भन्दै आक्रोश पोखे ।

‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँढ्छ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो ? त्यो दायित्व भूमि सम्बन्धी मन्त्रालयको होइन र ?’ गच्छदारले भने, ‘तर, राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो ।’

आफूलाई उक्त विषयमा थाहा नभएको उनको दाबी छ । ‘मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो,’ उनले भने, ‘यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ । आदिवासी, जनजातिको छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ ।’

उनले संविधान निर्माणमा आफूले महत्वपूर्ण भूमिका खेलेको कुरा पटक-पटक दोहोर्‍याएका थिए ।