रेशम चौधरी नछुटे अर्को विद्रोह सुरू गर्ने, यस्तो छ मोर्चाको तयारी
काठमाडौं- थरुहट–थारुवान राष्ट्रिय मोर्चाका अगुवाहरुले रेशम चौधरीलाई दलहरुले राजनीतिक रुपमा मात्रै प्रयोग गरेको आरोप लगाएका छन्। दलबाट कुनै हालतमा रेशम चौधरी नछुट्ने दाबी गर्दै उनीहरुले त्यसको अन्तिम विकल्प आन्दोलन नै भएको बताएका छन्।
टीकापुर थरुहट–थारुवान ‘विद्रोह’ को ६ वर्ष हुन लागेको अवसरमा मंगलबार आयोजित वृहत अन्तर्क्रियाका सहभागीहरुले टीकापुर घटनाका क्रममा पक्राउ परेकाहरुको सम्मानजनक रिहाइ नभए अर्को विद्रोहको चेतावनी पनि दिए। त्यतिबेला थारुहरुमाथि लगाएको झुटा मुद्दा फिर्ता, राजबन्दी र रेशम चौधरीको सम्मानजनक रिहाइ उनीहरुको माग छ।
सहभागीहरुले राज्यको नियतले नै चौधरी छुट्न नसकेको तर्क गरे। टीकापुर आन्दोलनको बलमा धेरै मन्त्री र सांसद भए पनि थारुका समस्या ज्यूँकात्यूँ रहेको आरोप उनले लगाए। नागरिक अभियन्ता नारायण वाग्लेले मुलुकमा शान्ति, समृद्धि स्थापना गर्नका लागि एउटा नयाँ गठबन्धनको आवश्यकता रहेको बताए। सत्ताका लागि नभएर, समृद्ध समाज निर्माणका लागि गैरराजनीतिक गठबन्धन बनाएर अघि बढनुपर्नेमा उनको जोड थियो।
थरुहट विद्रोह पनि नागरिक आन्दोलनकै अंश रहेको भन्दै उनले सँगै अघि बढ्न मोर्चालाई आग्रह गरे।
पूर्वराजदूत विजयकान्त कर्णले रेशम चौधरीको रिहाइका लागि एकमात्रै विकल्प आन्दोलन रहेको बताए।
‘जो व्यक्ति संघीयता र लोकतन्त्र समाप्त पार्ने कार्यमा लागेका थिए, तिनले रेशम चौधरीलाई व्यक्तिगत लाभका कारण सामूहिक रुपमा फसाए, उनै नेताले रेशमलाई जेलबाट रिहा गराउँछन् भने कुरा हाँस्यास्पद हो, त्यसलाई कसरी विश्वास गर्ने? आधार के? यो सबै भ्रमित कुरा मात्र हो।’ टीकापुर घटनामा दोषी देखाइ थुनामा राखेकाहरूलाई रिहा गराउनका लागि आन्दोलनबाहेक अरु केही उपाय नरहेको तर्क गरे।
‘दलबाट कुनै हालतमा रेशम चौधरी छुट्दैनन्, त्यसको अन्तिम विकल्प भनेको आन्दोलन नै हो,’ उनले भने, ‘मधेसी र थारु सत्ता बचाउँका लागि मात्रै प्रयोग गरियो, उनीहरुका हक अधिकारका लागि कुनै पनि सत्ता पक्ष इमान्दार भइदिएनन्।’
थारुहट–थरुवानका सल्लाहकार एवं रेशम चौधरी रिहाका अभियन्ता सुरेन्द्र चौधरीले रेशम चौधरीको नाममा राजनीतिमात्रै भएको बताए। चौधरीले दलहरुले रेशमलाई राजनीतिक फाइदाका लागि मात्रै प्रयोग आरोप समेत लगाए। उनले भने, ‘‘टीकापुर घटनाले गर्दा रेशम चौधरी जेलमा हुनुहुन्छ तर बाहिर उहाँको नाममा राजनीति भइरहेको छ।’
जसपाको महन्थ ठाकुर पक्षले रेशम चौधरीको एजेण्डा बोकेर तत्कालीन केपी ओली सरकारमा सहभागी भए पनि कुनै उपलब्धि हुन नसकेको बताए। ‘तर पनि हामी अहिले पनि न्यायालयमाथि विश्वस्त छौं, न्यायालयले रेशम चौधरीलाई अवश्य न्याय दिने छ,’ उनले भने।
रेशमलाई न्याय नदिइए भूमिगत आन्दोलन गर्न तयार रहेको उनले चेतावनी दिए। उनले भने, ‘‘हामी शान्तिपूर्ण आन्दोलन गर्न चाहन्छौं, तर रेशम चौधरीलाई छाडिएन भने अर्को तरिकाको आन्दोलन गर्न पनि तयार छौं।’
त्यस्तै थरूहट–थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ। भदौ १ गतेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने र भदौ ६–७ र ८ गते ‘टिकापुर विद्रोह दिवस’ मनाउने घोषणासमेत गरेको छ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनमा ७ सुरक्षाकर्मी र १ नाबालकसहित ८ जनाको ज्यान गएको थियो, जुन टीकापुर घटनाका रुपमा चिनिन्छ। उक्त घटना मुख्य योजनाकार रेशम चौधरी रहेको भन्दै सरकारले चौधरीमाथि मुद्धा चलाएको थियो। उनी अहिले डिल्लीबजार जेलमा छन्।