ओलीको व्यंग्य: ‘म राम्रो ग्रहदशाले प्रधानमन्त्री बनेको होइन’
काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अस्वाभाविक ढंगले सरकार गठन भएपछि सत्तापक्षका सांसदहरू दशैँमा केटाकेटी रमाएजस्तो रमाइरहेको टिप्पणी गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सरकार गठन भएको एक महिनासम्म पनि खुशीयाली चलिरहेको टिप्पणी गरेका हुन् ।
ओलीले आफू जनादेशबाट प्रधानमन्त्री भएको र पछि जालझेली गरेर हटाइएको बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘ मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो ।’
उनले आफू विभिन्न पार्टीको अहंकारबाट प्रधानमन्त्री नभएको पनि बताए । ‘विभिन्न पार्टीको नेताहरुको महत्वाकांक्षा, अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको हैन । स्वार्थको गठजोडबाट पनि भएको होइन । त्यस्ता विभिन्न असफलताको फिक्सनबाट उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री भएको होइन,’ उनले भने, ‘सभामुख महोदय कुनै जाली मुद्दा जितेर प्रधानमनत्री भएको थिइन । म परमादेशबाट हैन जनादेशबाट भएको हो । प्रधानमन्त्री पद दाइजो, जजमानीबाट प्राप्त हुने पद होइन ।’
‘सत्तापक्षका सांसदहरू सदनमा दशैँमा केटाकेटी रमाएजस्तै रमाइरहेको देखिन्छ, सरकार गठन भएको एक महिनासम्म धन्यवाद र बधाई के को लागि ?,’ ओलीले प्रश्न गरे ।
ओलीले सरकारले सुकुम्वासी आयोग विघटन गरेर सुकुम्वासीको घाँटी सेर्ने काम गरेको आरोप लगाए । प्रतिनिधि सभा पुनःस्थापना भएपछि ओलीले पहिलोपटक संसद्मा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को बैठकमा उपस्थित छन् ।
प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रतिपक्षी दलको नेता उपस्थित हुने र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने संसदीय परम्परा छ ।