शेरबहादुर देउवा र उपेन्द्र यादवबीच खटपट
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवबीच खटपट भएको खुलेको छ । सरकारमा जाने बिषयमा उनीहरूबीच खटपट भएको बताइएको छ ।
प्रधानमन्त्री देउवाले कसैलाई पनि उपप्रधानमन्त्री पदमा नियुक्त नगर्ने कुरा सुनाएसँगै जसपा अध्यक्ष यादवले आफूहरू सरकारमा जान नसक्ने सुचना पठाएका छन् । आफू पहिले पनि उपप्रधानमन्त्री भएकाले बरियता खस्किने गरि सरकारमा जान नसक्ने यादवले बताएका थिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव नेपालले उपप्रधानमन्त्री नराख्न सुझाव दिएपछि देउवाले यस्तो निर्णय गरेका थिए । तर त्यो निर्णय उनकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ ।
एकातिर नारायणकाजी श्रेष्ठले मन्त्रीका लागि मरिहत्ते गरेको र अर्कातिर भीम रावलले सरकारमा जाने भए उपप्रधानमन्त्री सहित गृहमन्त्रालय माग्नुपर्ने बताएकले दुई नेताले यस्तो सुझाव दिएका थिए । यस्तो निर्णयले केही नेताहरुलाई राहत मिलेपनि उपेन्द्र यादव नै सरकारमा जाने या नजाने भन्ने विषयमा अलमल देखिएका छन् ।
एकातिर पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूनिकट गैर सांसदहरूलाई मन्त्री बनाउन दवाव दिएको र अर्कातिर देउवाले उपप्रधानमन्त्री नदिने भएपछि नेता यादवले बोल्ड निर्णय गर्नसक्ने देखिएको छ
अध्यक्ष यादव यसअघि पनि केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित नै मन्त्री भएका थिए ।
जसपाको आज बस्ने केन्द्रीय कार्यकारिणी समिति बैठक सरकारमा जाने विषयमै छलफलमा केन्द्रित हुनेछ । तर, आफू सरकारको नेतृत्व गरेर जाने अवस्था नहुँदा कुनै कारण देखाएर सरकारमा तत्काल सहभागी नहुने निर्णय उपेन्द्रले गराउन खोजेको आशंका समेत कतिपय नेताहरूले गर्न थालेका छन् ।
मन्त्री बन्न कै लागि संसद पुनःस्थापनापछि महन्थ ठाकुर पक्षका १० जना सांसद उपेन्द्रतिर लागेका छन् । उनीहरू मन्त्री बन्न नपाए यादवको साथमा रहन गाह्रो छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायत शीर्ष नेताबाहिरबाट सरकारमा मन्त्री पठाउने र त्यसमा बहुमत जुटाउने पक्षमा छन् ।
खेमा बदलेर उपेन्द्रलाई साथ दिएका महिन्द्रराय यादव र मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री बन्नबाट रोक्न अरु सांसद लागेका छन् । मृगेन्द्र प्रतिनिधिसभा चुनाव हारेर राष्ट्रियसभामा आएकाले उनलाई नारायणकाजी रोक्ने संवैधानिक अस्त्र प्रयोग भएको छ ।
महिन्द्र यादव आर्थिक मामिलामा बदनाम भएको भन्दै पार्टीभित्रबाट उनलाई सरकारमा जान नदिन वहुसंख्यक नेताहरु एकमत छन् । बाबुराम र अशोक राईले समेत उनको नाममा आपत्ति जनाएको जसपा स्रोतले जनाएको छ ।
अशोक राई खेमाबाट राजेन्द्र श्रेष्ठ मन्त्री बन्न र सरकारको नेतृत्व गरेर जान लबिङमा छन् । तर, जसपाको जनाधार नै मधेस भएको र काठमाडौं जिल्लाभरिबाट ५ हजार मत समेत ल्याउन नसक्ने श्रेष्ठलाई मन्त्री बनाउँन नहुने भन्दै मधेशी सांसदहरू विरोधमा छन् ।
एकातिर महन्थ छाडेर आएका १० जना सांसदको व्यवस्थापन र अर्कोतिर आफू सरकारमा जाने परिस्थिति प्रतिकूल बन्दै जाँदा उपेन्द्र यादव नयाँ रणनीतिमा जुटेका छन् ।
सरकारमा बढीमा ६ मन्त्री पाइने र त्यसको भोलिपल्टै सांसदहरू महन्थतिर लाग्ने खतरा जसपामा छ । संसद पुनःस्थापनाअघि यादवसँग १२ जना सांसद थिए भने महन्थ पक्षमा २० जना थिए ।
मन्त्री बन्न नपाएका र मन्त्री बनेकाहरू समेत यादवको पल्ला भारी भएपछि महन्थलाई छाडेर उनीतिर लागेका थिए । तर सरकारमा सहभागितापछि एकपटक फेरि सांसदहरूको ओहोरदोहोर चल्ने र महन्थ पक्ष बलियो बन्ने अवस्था आउने भएकाले नेताहरू परिपक्व अवस्था बनाएर मात्र निर्णय गर्न चाहन्छन् ।
जसपाले मन्त्री छान्न नसकेकै कारण पनि सरकारले पूर्णता पाउन सकेको छैन । २९ साउनमा नियुक्ती पाएका प्रधानमन्त्री देउवाले हालसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता नदिन चौतर्फी आलोचना भएको छ ।