रावलमाथि नेपाल समुहमा घेराबन्दी: लाग्यो गद्दारको आरोप - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

रावलमाथि नेपाल समुहमा घेराबन्दी: लाग्यो गद्दारको आरोप



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहभित्र यतिबेला तनावको अवस्था देखिएको छ । नेताहरू विभाजित बनेपछि नेता नेपाल तनावमा परेका छन् । शनिबार पनि नेता नेपालले आफ्नो समुहका दोस्रो तहका नेताहरूमा क्षमता नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

पछिल्लो समय नेता नेपालको साथ् छाडेर ओली समुहमा लागेका भनिएका केहि नेताहरूले नेता नेपाललाई ओलीसंग मिल्नका लागि लगातार दवाव दिइरहेका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटि बैठकमा पनि केहि नेताहरूले ओलीको पक्ष लिएर बोलेको र चर्को आलोचनाको शिकार बन्नुपरेको थियो ।

बैठकमा कार्यदलमा सहभागी भएका नेता भीम रावल लगायतका नेताहरूले पार्टी एकताको विकल्प नभएको भन्न थालेपछि र्याखर्याखति पारेका थिए । बैठकमा नेता रावलले १० बुँदे सहमतिका बचाउ गरेपछि युवा नेताहरूले उनलाई घेराबन्दी गरेका थिए । नेताहरु राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री, विजय पौडेल, जगन्नाथ खतिवडालगायतले रावलमाथि आक्रोश व्यक्त गरेपछि रावल रक्षात्मक बनेका थिए ।

नेता रावलले आफूहरुको समूहमा रहेका नेताहरुको बोली र व्यवहारका कारण पनि एकतामा समस्या देखिएको भनेपछि नेताहरू रावलमाथि खनिएका थिए । नेताहरूले रावललाई अध्यक्ष केपी शर्मा ओलीको झोले बनिसकेको आरोप लगाएका थिए ।

युवा नेताहरूले चर्को आक्रोश व्यक्त गरेपछि रावलले ओली पनि दोषी भएको बताएका थिए । रावलले ओलीको विरोध गर्न थालेपछि नेतृ झाँक्रीले बाध्यताले विरोध गरेको आरोप लगाएकी थिइन् । झाँक्रीले बाहिर ओली विरुद्ध केहि बोल्न नसक्ने अवस्थामा रावल पुगेको बताएकी थिइन् ।

बैठकमा नेताहरूले रावललाई केरकार नै गरेका थिए । आफ्नो समुहबाट वार्ताका लागि पठाउँदा ओलीको प्रभावमा परेर मुद्दा पनि बेचेको आरोप रावलमाथि नेताहरूले लगाएका थिए । केहि नेताहरूले रावलले गद्दारी गरेकैले ओलीले पनि पछिल्लो समय हेप्न थालेको आरोप लगाएका थिए ।