माधव नेपालको गुनासो: आफ्नै दोस्रो तहका नेताहरू कायर छन्, दम नै छैन - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

माधव नेपालको गुनासो: आफ्नै दोस्रो तहका नेताहरू कायर छन्, दम नै छैन



काठमाडौं। नेकपा (एमाले)का बरिष्ठ नेता माधव नेपालले आफ्नो समुहको दोस्रो तहका नेताहरू कायर भएको गुनासो गरेका छन् । आफ्नै नेताहरूमा दम नभएकाले पनि धेरै समस्या आएको उनले बताएका छन् ।

एमाले दोलखका कार्यकर्तासाग भर्चुअल बैठकमा उनले आफ्नो समुहका नेताहरूमा दम नभएको बताएका हुन् । उनले आफ्नो समूहका दोस्रो तहका नेताहरुप्रति ब्यापक असन्तुष्टि जनाएका छन् ।

‘केपी ओली सुध्रिएनन् भने, उनले कुनै पनि कुरालाई मानेनन् भने गर्ने के त ?,’ उनको प्रश्न छ, ‘ त्यहाँ गएर फस्ने ? त्यहाँ गएर रुने ? चिच्याउने ? कराउने ? टाउकोमा हात राखेर बस्ने ? त्यो मन्जुर छैन् । हामी सम्मानजनक एकताको कुरा गरिरहेका छौं ।’

नेता नेपालले अध्यक्ष केपी शर्मा ओली सुध्रिने र एमाले एकता हुने सम्भावना आफूले नदेखेको बताए। १० बुँदे सहमतिलाई टेकर अगाडि बढ्ने आफू पक्षीय केन्द्रीयको बैठकबाट गराएको भनिएको भोलिपल्ट नेता नेपालले यस्तो आँकलन सुनाएका हुन्।

उनले ओलीसुध्रिनेमा आफूलाई विश्वास नलागेको बताएका छन् । पार्टी एकताका लागि अन्तिम मौका दिएको पनि उनले बताएको बैठकमा सहभागि एक स्थानीय नेताले नेपाल प्रेसलाई जानकारी दिए। उनले थपे, ‘ओलीले गालीका गोलाबारुद बर्साइरहेका छन्, हामी म्याँउ म्याँउ गरेर बसेका छौं।’

नेपाल पक्षका दोस्रो तहका नेताहरु पार्टी फुटाउन नहुने पक्षमा छन् । उनीहरुकै क्रियाशिलतामा १० बुँदे सहमति भएको थियो जसको नेता नेपालले अहिलेसम्म सार्वजनिक रुपमा स्वामित्व लिएका छैनन्।

एमालले बोलाएको केन्द्रीय कमिटी बैठक नरोके ओलीसँग एकता नहुने नेता नेपालको भनाइ छ। त्यस्तै सदस्यता नवीकरण,बितरण र अधिवेशन रोक्नुपर्ने उनको माग छ।