जसपाका नेताले लगाए प्रचण्डमाथि गम्भीर आरोप - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

जसपाका नेताले लगाए प्रचण्डमाथि गम्भीर आरोप



काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेता केशव झाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । झापामा शनिबार अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै उनले प्रचण्डमाथि गम्भीर आरोप लगाएका हुन् ।

उनले ‘प्रचण्ड’का कारण मुलुकमा राजनीतिक अस्थिरता आएको दाबी गर्दै मुलुकको मुख्य समस्या नौ प्रचण्ड भएको बताए । प्रचण्ड नै राजनीतिक अस्थिरताका कारक भएको दाबी उनको छ ।

‘प्रचण्डकै कारण मुलुकमा राजनीतिक अस्थिरता आएको हो,’ नेता झाले भने, ‘मुलुकको मुख्य समस्या भनेको आन्तरिक उपनिवेशवाद हो।’ एकल जातीय राज्यको चरित्र बदल्नुनै अहिलेको मुख्य चुनौती भएको जिकिर गर्दै उनले संविधानको पूर्णताका लागि संशोधन आवश्यक रहेको बताए।

‘अपूर्ण रहेको संविधानको पूर्णताको निम्ति संविधान संशोधन खास गरी दस प्लस एक राज्यको स्थापना हुनुपर्छ,’ झाले भने, ‘बहुल राष्ट्रिय राज्यको स्थापना अहिलेको मुख्य कार्यभार हो। उत्पीडित जातजाति र समुदायको सम्पूर्ण समस्याको समाधानका निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अहिलेको हाम्रो मुख्य अभिभारा हो।’

उनले ठाकुर पक्षको मुख्य अभिभारालाई पूर्णता दिन अविचलित भएर जसपाको अभियानमा अगाडि बढ्न आग्रह पनि गरे। ठाकुर पक्षले आज (शनिबार) तराई मधेशका चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेको छ। शुक्रबारदेखि सुरु भएको भेला आगामी ९ भदौसम्म चल्ने जसपाले जनाएको छ।