ओलीले गरेका निर्णय उल्ट्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी
काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले आन्दोलन शुरू गर्ने चेतावनी दिएका छन् । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका निर्णयहरू उल्ट्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।
शुक्रबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले वर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो ओली नेतृत्वको सरकारले गरेका निर्णयहरु उल्टाउने क्रम बढाउँदै गए राम्रो नहुने बताए ।
नेता बस्नेतले ओली सरकारले गरेका निर्णय खारेज नगर्न देउवा नेतृत्वको सरकारलाई चेतावनी दिँदै ओलीले गरेका लोकप्रिय निर्णयबाट नआत्तिन आग्रह गरेका थिए ।
उनले सरकारले भूमि आयोग विघटन गरेको प्रतिपनि विरोध जनाए । उनले भने, ‘विगतको सरकारले गरेका काम वर्तमान सरकारले उल्ट्यायो भने जनताको आन्दोलन फेरि उठ्छ । त्यो आन्दोलनलाई राष्ट्रिय युवा संघले सशक्त नेतृत्व गर्छ’ ।
त्यस्तै उनले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कने कुनै सम्भावना नभएको बताए ।
‘एमाले अब जेठ २ गतेको अवस्थामा पुग्न सम्भव छैन । यो त जन्मेको बच्चा पेटभित्र पठाउ भनेजस्तो हो’ बस्नेतको भनाइ छ ।
उनले केही नेताहरु अनेक आर्थिक प्रलोभन, ठेक्कापट्टा र मन्त्री बन्ने लोभमा देउवाको पक्षमा मतदान गर्न गएको भन्दै उनीहरु नेताहरुलाई पार्टीमा फर्कन यही साउन २४ गतेसम्मको अध्यक्षले म्याद दिएको र त्यसलाई कमजोरी नठान्न चेतावनी दिए ।