भीम रावलमाथि खनिए केन्द्रीय सदस्यहरू: क्रियाकलाप शंकास्पद - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

भीम रावलमाथि खनिए केन्द्रीय सदस्यहरू: क्रियाकलाप शंकास्पद



काठमाडौँ- नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा पार्टी उपाध्यक्ष समेत रहेका नेता भीम रावल प्रश्नको केन्द्रमा परेका छन् । उपस्थित केन्द्रीय सदस्यहरूले रावलको क्रियाकलाप शंकास्पद भएको भन्दै प्रश्नले घेरेका थिए । १० बुँदे सहमतिप्रति पनि केन्द्रीय सदस्यहरूले निकै आशंका गरेका थिए ।

रावलको ब्रिफिङप्रति असन्तुष्ट भएका केन्द्रीय सदस्यहरूले प्रतिनिधिसभा विघटन गर्ने र कम्युनिस्ट आन्दोलन एवं पार्टीलाई यो अवस्थामा ल्याइपुर्‍याउन अध्यक्ष ओलीले आत्मालोचना गर्ने कि नगर्ने भन्नेबारे १० बुँदेमा उल्लेख नभएको भन्दै आलोचना गरेका थिए । उनीहरूले रावलले ओलीप्रति नरमभाव देखाएको भन्दै आशंका पनि व्यक्त गरेका थिए ।

नेपालले आफ्ना कुरा राखिसकेपछि पार्टी उपाध्यक्ष भीम रावलले ओली पक्षका नेताहरूसँग भएका सहमतिदेखि छलफलका बारेमा केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गरेका थिए । नेपालको सहमति र अनुमतिमा नै आफूहरू ओलीपक्षसँग वार्तामा बसेको र सहमति गरेको तर पछिल्लो समय ओलीका अभिव्यक्तिले एकताको वातावरण धमिलिएको रावलले बताएका थिए । ‘केपी ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बल्याएको छ । हामीले एकताको प्रयास जारी गर्नुपर्छ,’ उनले भनेका थिए ।

रावलले अध्यक्ष ओलीले प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभा विघटन गर्दा नै अहिलेको अवस्था आएको बताएका थिए । उनले असार २७ गते राति गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका थिए ।

माधव नेपालको तर्फबाट विवाद समाधान कार्यदलका संयोजक भएका भीम रावलमाथि केन्द्रीय सदस्यहरूले प्रश्‍न र आशंका व्यक्त गरेका छन् । खासगरी असार २७ गते भएको १० बुँदे सहमतिपत्रको बढाइचढाइ गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गरेको भनेर नेपाल निकट केन्द्रीय सदस्यहरूले आलोचना गरेका हुन् ।

रावलको ब्रिफिङप्रति असन्तुष्ट भएका केन्द्रीय सदस्यहरूले प्रतिनिधिसभा विघटन गर्ने र कम्युनिस्ट आन्दोलन एवं पार्टीलाई यो अवस्थामा ल्याइपुर्‍याउन अध्यक्ष ओलीले आत्मालोचना गर्ने कि नगर्ने भन्नेबारे १० बुँदेमा उल्लेख नभएको भन्दै आलोचना गरेका थिए । उनीहरूले रावलले ओलीप्रति नरमभाव देखाएको भन्दै आशंका पनि व्यक्त गरेका थिए ।

रावलले वार्तामा भएका कुरा राखेपछि नेता नेपाल रक्षात्मक भएर बोलेको र त्यसलाई लिएर केन्द्रीय सदस्यहरूले आक्रोश व्यक्त गरेको एक केन्द्रीय सदस्यले बताए । ‘रावलकै कारण नेपाल डिफेन्सिभ भएर बोल्नुभयो त्यसपछि केन्द्रीय सदस्यहरू जगन्नाथ खतिवडा, मेटमणि चौधरी, सुरेन्द्र मानन्धर, रामकुमारी झाँक्री, बलराम बाँस्कोटालगायतले विरोध गर्नुभएको थियो । उहाँहरूले राजनीतिक रूपमा आफूहरूको जित हुँदा पनि किन रक्षात्मक हुनुपर्‍यो भन्ने धारणा राख्नुभएको थियो,’ ती सदस्यले भने ।

ती नेताहरूले एकता कसैले पनि अस्वीकार गर्न नसक्ने तर एकता १० बुँदे जस्तो मानेर आत्मसमर्पणमा एकता गर्न नसकिने धारणा राखेका ती नेताको भनाइ थियो । अहिले अध्यक्ष ओलीले आफ्नो सुविधाका लागि एकता खोजेको र त्यसमा आफूहरूको र तल्लो तहसम्मका कार्यकर्ताको आत्मसम्मान हुनेगरी मात्रै एकतामा जानुपर्ने उनीहरूले धारणा राखेका थिए ।

झाँक्रीले केन्द्रीय समितिमा आफूले राखेको धारणाबारे भनिन्, ‘मैले अवस्था कसरी सिर्जना भयो भन्नेबारे कुरा राखेको थिए । आज जसरी वार्ता समिति भर्सेस स्थायी कमिटी बनिरहेको छ र स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी बनिरहेको त्यसले हो ।’

वार्ता कार्यदलमा रहेका नेताहरूका माथि उनले प्रश्‍न उठाएकी थिइन् । त्यहाँ आफूहरू नै सर्वेसर्वा भएको र माधव नेपालसँग मान्छे नै नभएको भनेर कुरा राखेको भन्दै उनले बैठकमा आक्रोश व्यक्त गरेकी थिइन् ।

बैठकमा उनले भनेकी थिइन्, ‘दोस्रो तहका नेताहरू माथि केही प्रश्‍न छन् । माधव नेपालले पार्टी विभाजन गर्नुभयो भने उहाँसँग २० जना केन्द्रीय सदस्य हुने छैनन्, माधव नेपालले अर्को सरकारलाई विश्वासको मत दिए २ जना सांसद हुने छैनन् भन्नेजस्ता वार्ता समितिका केही नेताले गएर उतापट्टी भन्नुभयो यसको कारणले हाम्रो टिम कमजोर भएको छ । कमजोर भएका ओली किन अहिले यस्तो गरिरहेका छन् भन्दा तपाईंहरूको कमजोर प्रस्तुतिले हो । माधव नेपाल केही पनि होइन जे हो हामीहरू हो भनेकाले यस्तो भएको छ । यो काम बन्द गर्नुस् । पार्टी एकता गर्दाखेरी उहाँको आवश्यकताले होइन हाम्रो आत्मसम्मानले गर्नुपर्छ ।’

झाँक्रीले बोलिसकेपछि रावलले प्रतिवाद गरेका थिए । त्यसपछि अरु केन्द्रीय सदस्यहरूले रावलको आलोचना गरेका थिए । त्यसपछि नेता जगन्नाथ खतिवडाले पनि ओलीका सर्तमा र आवश्यकतामा नभएर नेपाल पक्षको सर्त र आत्मसम्मानमा एकताको प्रस्ताव तयार गर्नुपर्ने धारणा राखेका थिए । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु रवीन्द्र अधिकारी, निरज आचार्य लगायतले पार्टी एकतामा जोड दिनपर्ने धारणा राखेका थिए । नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी रहनेछ ।

आत्मसम्मानको खोजी

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्मान गिराएर एकता गर्न नहुने मत बलियो भएको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा नेता नेपालले नै आत्मसम्मान गिराएर जान नसकिने धारणा राखेका हुन् ।

तर, उनले एकताको बाटोबाट आफू बाहिर नरहेको धारणा पनि राखेका छन् । एमालेको स्थापना आफूले गरेको भन्दै उनले पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गर्ने तर आत्मसम्मानकासाथ लाग्ने धारणा राखेका थिए । उनले अध्यक्ष ओलीले सरकारमा रहँदा र बाहिर निस्किएपछि चालेका कदम र दिएका अभिव्यक्तिले गर्दा नै एकताको वातावरण धमिलिँदै गएको पनि बताए ।

पार्टी स्थापनाका दिनहरू स्मरण गर्दै नेता नेपालले आफूहरूले रगत र पसिना बगाएको र त्यसको भविष्य सुनिश्चित गर्न पनि अधिकतम प्रयास गर्ने बताएका थिए । अध्यक्ष ओली पार्टी स्थापनाका क्रममा मुद्दा लागेर जेलमा रहेको र पछि मात्रै पार्टीमा जोडिएको भन्दै केन्द्रीय सदस्यहरूलाई उनले सम्मानजनक एकताका लागि प्रयास गर्नुपर्ने बताएका थिए ।

केन्द्रीय कमिटी बैठकमा नेपालले राखेका धारणा उल्लेख गर्दै केन्द्रीय सदस्य यज्ञराज सुनुवारले भने, ‘पार्टी मैले बनाएको हुँ भन्नुभयो । उहाँले पछिल्लोपटक राजनीतिक एजेन्डामा हामीले जितेका छौं, केपी ओलीको ज्यादतीपूर्ण, निरंकुश कदमले अहिलेको अवस्था आएको हो भन्ने धारणा राख्दै एकताको लागि तयार छौं तर सम्मानजनक एकता हुनुपर्छ भन्नुभयो ।’

विगतमा नेकपा हुँदा पुष्पकमल दाहालसँग लिखित रूपमा गरेका सम्झौता कार्यान्वयन नगरेका ओलीसँग सहमति गर्दा कार्यान्वयन हुनेमा शंका रहेको नेपालले बताएका थिए । ‘राजनीतिक रूपमा आफूहरूले जितेकाले एकताका नाममा ओलीसामु लत्रिएर जान नसकिने, सम्मानजनक रूपमा अघि बढ्नुपर्ने’ धारणा राखेको सुनुवारले उल्लेख गरे ।

ओलीले आफ्नो सुविधाका लागि पार्टी एकता चाहेको र आफूहरूले आत्मसम्मान भएमा मात्रै पार्टी एकतामा जानुपर्ने धारणा राखेको अर्का एक केन्द्रीय सदस्यले बताए ।

१० बुँदे सहमतिका आधारमा ओलीसँग मिलेर जान नसकिने धारणा केन्द्रीय सदस्यहरूको थिए । त्यसरी जाँदा लत्रिएको रूपमा लिइने र भविष्यमा धोखा पाइने उनीहरूको भनाइ रहेकाले तत्काल हतार गरिहाल्न नहुने धारणा आएको सुनुवारले बताए ।

बैठकमा आएका धारणाबारे अर्का केन्द्रीय सदस्य झपट रावलले भने, ‘कतिपय साथीहरूको धारणा केपी ओलीसँग तत्काल मिलेर जान सकिँदैन भन्ने आयो । केपी ओलीको जुन रवैया छ त्यसले गर्दा सँगै जान सकिँदैन, कम्युनिस्ट पार्टी ध्वस्त बनाउनेसँग भोलिसँगै कसरी जान सकिन्छ भन्ने कुरा थियो ।’ अहिलेकै अवस्थामा ओलीसँग एकतामा जाँदा धोका दिने हुन् कि भन्ने आशंका व्यक्त भएको रावलको भनाइ थियो ।

‘आत्मसम्मानसहितको पार्टी एकताका लागि जानुपर्छ भन्ने निष्कर्ष थियो । केपी ओलीले आइज भन्दा जाने र गइ जा भन्दा बाहिरिने भन्ने होइन,’ बैठकमा उठेका धारणाबारे रावलले भने, ’ओलीलाई अनन्तकालसम्मका लागि अध्यक्ष बनाएको होइन राम्रो काम गर्नका लागि हो ।’