बैठकबाट निस्किएका नेता भन्छन्: ओलीकै कारण एकता हुन नसक्ने देखियो
काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठकमा नेताहरूले पार्टी अध्यक्ष केपी ओलीकै कारण एकता पार्टी एकता हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेता भीम आचार्यले आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।
नेपाल समूहले डाकेको केन्द्रीय कमिटीको बैठकमा केहीबेर मात्रै सहभागी भएर बाहिरिएका नेता आचार्यले पार्टी एकताको विकल्प नभएको बताउँदै ओलीको अभिव्यक्तिले नै समस्या निम्त्याएको बताए ।
‘एकताको विकल्पै छैन । जतिसुकै बोल्ड भए पनि परिस्थिति परिपक्क भएपछि बोल्ड निर्णय हुने हो । ओली पक्ष आएपछि हामी एकताका लागि तयार नै छौँ,’ उनले भने, ‘तर, उहाँले केके बोल्दै हिँड्नु हुन्छ । मूल अड्केको पावर ब्यालेन्स लगायत विषय हुन् ।’
पार्टी विवाद समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदामा धेरैको असन्तुष्ट भए पनि त्यसलाई दुवै पक्षले स्वीकार्नुपर्ने उनको भनाइ छ । १० बुँदा नै एकताको आधार भएको उनको ठहर छ ।
फरक प्रसंगमा नेता आचार्यले आफूहरुका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको कुरा गलत भएको बताए। बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीसँग बोल्दै उनले आफूहरुका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको भन्ने कुरालाई अस्वीकार गरे।
‘मन्त्रिपरिषद् विस्तार हाम्रो पक्षका कारण रोकिएको होइन, प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण हो’, उनले भने, ‘देउवाकै कारण सरकार विस्तार नभएको हो।’