पक्राउ परे सेवाग्राहीलाई कुट्ने जुनिचाँदेका वडाध्यक्ष
काठमाडौं- साउन १५ गते स्थानीय सर्पे दमाइलाई बन्धक बनाएर कुटेका जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्।
बन्धक बनाएर नावालक सर्पे दमाईलाई कुटपिट गरेका उनलाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो। बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको बताइएको छ ।
टाढाको दूरी भएका कारण विभिन्न इलाका प्रहरीको रोहोबरमा उनलाई जिल्ला प्रहरी कार्यालय लागिएको छ । पीडितलाई पनि सदरमुकाम बोलाइएको छ। पीडितले अहिलेसम्म जाहेरी दिएका छैनन्।
पीडितको बयान, घटनाको प्रकृति र भिडियोलाई आधार मानेर कानुनी कारबाही हुनसक्ने प्रहरीले जनाएको छ।यद्यपि प्रहरीले भने उनलाई पक्राउ गरेको नभई आवश्यक सोधझपुछका लागि जिल्लामा बोलाइएको जनाएको छ।