गगनले भने: कार्यकर्ता भर्ती केन्द्र खारेज गरिएको हो, सुकुम्बासीले जग्गा पाउँछन् - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

गगनले भने: कार्यकर्ता भर्ती केन्द्र खारेज गरिएको हो, सुकुम्बासीले जग्गा पाउँछन्



काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको तर सुकुम्बासीलाई जग्गा दिने तयारी भएको बताएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदले नेकपा एमालेका नेता देवी ज्ञवालीको अध्यक्षतामा रहेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेको थियो।

आयोग विघटन भएको भोलिपल्ट बुधबार चितवन पुगेर सत्तारूढ कांग्रेसका नेता थापाले पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरिएको जिकीर गरे।

‘सुकुम्बासी आयोग भंग भयो। यो आयोग भंग गरेको भनेको यहाँको सुकुम्बासीलाई जग्गा दिने काम बन्द भयो भनेको होइन,’ राप्ती नगरपालिका वडा नम्बर ९ को नवनिर्मित भवन उद्घाटन गर्दै थापाले भने, ‘पार्टी कार्यकर्ता भर्ती गरेर बनाएको आयोग खारेज गरेको हो।’

उनकाअनुसार पटकपटक गरिएका अध्ययनले जग्गा दिन आवश्यक पहिचान गरेकाहरूलाई जग्गा दिइने व्यवस्था सरकारले मिलाउने पनि बताए।

‘जति सुकुम्बासीलाई जग्गा दिन भनेर पहिचान भएको छ, उनीहरूलाई अबको १२ देखि १५ महिना भित्रमा उनीहरूलाई जग्गा प्राप्तिबारे सरकारले आजभोलि नै निर्णय गर्छ। त्यो काम टुंग्याएर जान्छ,’ उनले भने।

सरकारले यस्ता कामबारे जनतासँग राम्रोसँग सम्वाद गर्नुपर्ने आवश्यकता रहेको थापाले बताए। ‘काम मात्रै गरेर हुन्न सही ढंगले जनतासँग संवाद गर्नुपर्छ,’ उनले भने, ‘अघिल्लो सरकारले पारेका प्वाल टाल्ने हो। सबैलाई मिलाएर यो सरकारले लैजानुपर्छ। सम्हाल्नुपर्छ।’