भ्रष्टाचारका अभियुक्त मन्त्रालयको सल्लाहकार नियुक्ति
जनकपुरधाम- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई प्रदेश २ सरकारले मन्त्रालयको सल्लाहकारमा नियुक्त गरेको छ । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका व्यक्तिलाई सल्लाहकारमा नियुक्ति गरिएपछि त्यसको विरोध भैरहेको छ ।
भ्रष्टाचारका अभियुक्त जीवनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारका रूपमा नियुक्त गरिएको हो । चौधरीलाई गत असार २० गते नै नियुक्ति दिइएको छ
विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका चौधरीलाई गत असार २० गते नै नियुक्ति दिइसकेको खुलेको हो । भ्रष्टाचार मुद्दामा अदालतले उनीमाथि चार महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
चौधरी तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रूपमा कार्यरत रहँदा भ्रष्टाचारमा मुछिएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध मुद्दा दायर गरेकोे थियो ।
उनी अहिले पनि निलम्बनमै छन् । चौधरी जनकपुरको रामानन्द चोकमा रहेको होटल सिता प्यालेसका सञ्चालक र मैथिली विकास कोषका अध्यक्षसमेत हुन् ।
त्यतिमात्र होइन प्रतिनीधि सभाको निर्वाचनमा उनी छुरा काण्डमा समेत मुछिएका थिए ।
