माधव नेपाललाई एमालेको अर्को अध्यक्ष बनाउने तयारी - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

माधव नेपाललाई एमालेको अर्को अध्यक्ष बनाउने तयारी



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीको अर्को अध्यक्ष बन्ने चर्चाबीच सोहि पक्षका नेता युवराज ज्ञवालीले पार्टीमा अध्यक्ष केपी शर्मा ओली बाहेक दोस्रो वा समान हैसियतको अध्यक्ष नेता नेपाललाई बनाउने पहल थालिएको बताएका छन् ।

नेता नेपाललाई पार्टीको अध्यक्ष बनाउने विषयमा आफूहरूबीच छलफल भएको र ओली समूहसँग यसबारे छलफल भैरहेको उनले बताएका छन्। सोमबार बुद्धनगरमा भएको नेपाल पक्षको बैठकमा सहभागी भएका ज्ञवालीले यस्तो जानकार दिएका हुन्।

‘दोस्रो वा समान हैसियतको अध्यक्षबारे छलफल जारी छ। यस विषयमा निर्णय भइसकेको छैन,’ उनले भने। ज्ञवालीले आफूहरू सरकारमा सहभागी हुने विषयमा कुराकानी नभएको समेत बताए। ‘सरकारमा जाने भनी बाहिर आएको विषय कुरा मात्रै हो। सहभागी हुने कुरा भएको छैन। जाने कुरा पनि भएन,’ उनले भने।

पछिल्लो समय ओली पक्ष माधव कुमार नेपाललाई दोस्रो अध्यक्षका रूपमा स्वीकार गर्न सकारात्मक देखिएको बताइएको छ। तर नेता नेपाल भने दोस्रो वा समान हैसियतको अध्यक्षका विषयमा सकारात्मक नभएको बताइएको छ।

बैठकमा अध्यक्ष ओलीको बोली र व्यवहार फरक पर्ने गरेको विषयमा समेत छलफल भएको उनको भनाइ छ। केहीदिन अघि काठमाडौंमा ओलीले माधव कुमार नेपाललाई एमालेमा कुनै ठाउँ नभएको बताएका थिए। उक्त विषयमा छलफल भएको समेत उनको भनाइ छ।

‘ओलीका अभिव्यक्तिले एकता प्रक्रियामा असर गरेको विषयमा पनि छलफल भयो,’ उनले भने। माधव पक्षले एकता प्रयास जारी रहेका बेला बैठक राखेर गरिएका निर्णय स्थगित गरिनुपर्ने समेत उल्लेख गरेको छ।

यस्तै एकता प्रक्रियाको विकल्प अझै बाँकी रहेको विषयमा समेत छलफल भएको उनको भनाइ छ। ‘एकता चाहेको हो एकता प्रक्रियालाई अगाडि लैजानुपर्छ। अझै विकल्प बाँकी छ। यी लगायतका विषयमा छलफल भए,’ उनले भने।