वडाध्यक्षले नै नगपालिकाको कार्यालय तोडफोड गरेपछि... - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

वडाध्यक्षले नै नगपालिकाको कार्यालय तोडफोड गरेपछि…



काठमाडौं- नुवाकोटको विदुर नगपालिकाको कार्यालयमा तोडफोड गरिएको छ । नगपालिकाको कार्यालय अरु कसैले नभएर सोही नगरपालिका अन्तर्गतका केही वडाध्यक्षहरुले तोडफोड गरेका हुन् ।

नगरपालिकामार्फत सञ्चालित ‘सुन्तला जात फलफूल पकेट विकास कार्यक्रम’ मा अनियमितता भएको भन्दै वडाध्यक्षहरूले नै नगरपालिकामा तोडफोड गरेका हुन् ।

नगरप्रमुख सञ्जु पण्डितको सिफारिसमा वडा नं १३ मा सञ्चालित ‘पकेट विकास कार्यक्रम’मा तोकिएअनुसार सुन्तला र कागतीको बिरुवा वितरण नभएको पाइएपछि बजेट भुक्तानी गरेको विरोधमा छजना वडाध्यक्षहरूको नेतृत्वमा नगरपालिकामा तोडफोड गरिएको हो ।

ढुंगा प्रहारबाट नगरपालिकाको झ्यालका सिसाहरू, विद्युतीय सूचना बोर्डलगायत बाहिरी संरचनासमेत गरी एक लाखबराबरको क्षति पुगेको नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

नगरपालिका तोडफोडका क्रममा भएको झडपमा दुईजना प्रहरीसहित चारजना घाइते भएका छन् ।

पकेट विकास कार्यक्रमका लागि विनाप्रतिस्पर्धा १३ नंं का वडाध्यक्षमा पारजित नानीकाजी खड्का अध्यक्ष रहेको ‘कल्याणपुर कृषि सुधार बहुउद्देश्य सहकारी’मार्फत काम गरेको, फर्जी कागज बनाएर १३ लाख बजेटबाट पहिलो चरणमा साउन १४ मा ६ लाख ९८ हजार भुक्तानी दिएकाले विरोध गर्नुपरेको वडाध्यक्षहरुको भनाइ छ ।