पूर्वमाओवादी नेताको पेसी आज, सांसद पद पुनर्बहाली होला त ? - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

पूर्वमाओवादी नेताको पेसी आज, सांसद पद पुनर्बहाली होला त ?



काठमाडौं- आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै सांसद पदमा पुनर्वहाली माग गर्दै सर्वोच्च पुगेका पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुँदैछ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा दायर रिटको पेसी आजका लागि तोकिएको छ।

चारै नेताले आफूहरूलाई सांसद् पदमा पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए। उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो। माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन्।

भट्ट कैलाली क्षेत्र नम्बर ४, रायमाझी अर्घाखाँची, साह रौतहट ३ र चौधरी कैलाली ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।