माओवादीबाट को-को बन्दैछन् मन्त्री: यी हुन् सम्भावित नाम - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

माओवादीबाट को-को बन्दैछन् मन्त्री: यी हुन् सम्भावित नाम



काठमाडौं । सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी छलफल तिव्र बनाएका छन् । बुधबार विहान बसेको ५ दलीय गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी शीर्ष नेताहरुको बैठक राख्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले स्थायी कमिटि बैठक मार्फत मन्त्रीहरुको नाम टुंगो लगाउने भएको छ । धेरै नेताहरु मन्त्रीको आकांक्षी भएको कारण अध्यक्ष प्रचण्डले आफूलाई तनाव भएको बताएका थिए ।

माओवादी स्रोतका अनुसार सरकारमा माओवादीले पाउने ७ मन्त्रालयमा जान सातै प्रदेशबाट समेट्ने गरी १३ जनाको नाममा छलफल भएको छ । जसमा ७ जना मात्रै सरकारमा जानेछन् ।

स्रोतका अनुसार प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती र अमनलाल मोदीमध्ये एक जनालाई मन्त्री बनाउने तयारी छ । प्रदेश २ बाट मात्रिका यादवको नाम आएको छ ।

बागमती प्रदेशबाट हरिबोल गजुरेल, शशी श्रेष्ठ र अञ्जना बिसंखेमध्येबाट एकजना मन्त्री हुने माओवादी स्रोतले बतायो । हरिबोललाई पठाइएको अवस्थामा उनले पार्टीका तर्फबाट सरकारको नेतृत्व गर्ने माओवादीका नेताहरू बताउँछन् । त्यो अवस्थामा उनी उपप्रधानमन्त्री पनि बन्न सक्छन् ।

गण्डकीको प्रतिनिधित्व हुने गरी नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र हरि अधिकारीको नाम सर्ट लिस्टमा परेको छ ।

लुम्बिनीबाट महेश्वर गहतराज र जयपुरी घर्तीको नाम चर्चामा छ । उनीहरूमध्ये एकजना मन्त्रीमा पर्ने भएका छन् । महिला र दलितको कोटा मिलाउँदा दुई मध्ये एकजना पर्न सक्ने स्रोतले बतायो ।

कर्णालीबाट जनार्दन शर्मा मन्त्री बनिसकेका छन् । सुदूरपश्चिमबाट थारु समुदायका हरिराम चौधरीको नाम चर्चामा छ ।

वर्षमान पुन, शक्तिबहादुर बस्नेत ओली सरकारका पालामा मन्त्री बनिसकेको हुनाले उनीहरु सर्ट लिस्टमा परेका छैनन् । त्यस्तै शशी श्रेष्ठ र जयपुरी घर्ती संसदीय समितिको सभापति रहेका छन् । उनीहरुको हैसियत पनि राज्यमन्त्रीको सरह हुन्छ ।

माओवादीले स्थायी कमिटि बैठकबाट मन्त्रीहरुको नाम फाइनल गर्ने भएको छ । आज बस्ने भनिएको बैठक स्थगन भएपछि अर्काे बैठकमा निर्णय हुने बताइएको छ ।