सरकारमा सहभागी हुन माधव नेपाललाई आफ्नैको दवाव
काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालनिकट सांसदहरुले वर्तमान सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।
आज बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा भएको छलफल उपस्थित अधिकांश सांसदले सरकारमा सहभागी हुनुपर्ने मत राखेका हुन् ।
आफ्नो भनाइ राखेर छलफलबाट बाहिरिएका सांसद मेटमणि चौधरीले आफूहरुको एकै स्वर रहेको बताए । “सबैजनाले सरकारमा सहभागी हुनुपर्छ भन्नुभएको छ । हामी सबै एक छौँ । उहाँ (नेपाल)ले पनि सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म भन्नुभएको छैन,” उनले भने ।
आफूहरु सरकारमा सहभागी नहुने पक्षमा भनेर बाहिर आएको कुरा गलत रहेको उनको भनाइ छ ।
छलफलमा नेता नेपालसहित १९ सांसद उपस्थित थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मतदान गरेका एमाले सांसदले छलफल गरेका हुन् । देउवाको पक्षमा नेपालनिकट २२ सांसदले मत हालेका थिए । तीमध्ये तीन सांसद भने काठमाडौंबाहिर रहेकाले छलफलमा सहभागी नभएको बताइएको छ ।