‘मिसन सक्सेस’ नभएपछि टोपबहादुरलाई लाग्यो माओवादीको माया
काठमाडौं- माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गर्दै हिड्ने पूर्वमन्त्री टोपबहादुर रायमाझीले लाजै पचाएर आफू नेकपा एमालेमा प्रवेश नगरेको भन्दै माओवादीकै नेता भएको बताएका छन् । आश्चर्य त के छ भने उनै टोपबहादुरले केहिदिन अगाडी निर्वाचन आयोगमा माओवादी केन्द्र खारेज गर्न माग गर्दै रिट दायर गरेका थिए ।
माओवादीमा उनको यस्तो हर्कतको निकै आलोचना भएको थियो । माओवादीलाई सिध्याउने मिसनमा लागेको आरोप समेत उनीमाथि लागेको थियो । उनले सार्वजनिक कार्यक्रममा पनि प्रचण्ड र पार्टीको उछितो काट्ने गरेका थिए । अहिले उनलाई लिएर सामाजिक संजालमा चर्को आलोचना बहेको छ । उनालई कतिपयले माओवादी र प्रचण्डलाई सकाउने मिसन सक्सेस नभएकाले माओवादीको माया लागेको समेत बताएका छन् ।
बुधबार सर्वोच्च अदालत पुगेका रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको दाबी गरेका छन् ।माओवादीकै सांसदको हैसियतमा सांसद पदमा पूर्नवाहाली गर्न माग गर्दै रायमाझी सर्वोच्च अदालतमा रिट दायर गर्न गएका थिए ।
उनले रिटमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको दाबी गरेका छन् । उनले आफू माओवादी केन्द्रकै नेता रहेको दाबी गरेका छन् ।
रिटमा उनले माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन् । नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीसहित लेखराज भट्ट, साह र गौरीशंकर चौधरीलाई सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेको संसद् सचिवालयलाई जानकारी गराएको थियो ।
माओवादी केन्द्रले सांसदबाट हटाएको तीन महिनापछि टोपबहादुर सांसद पद बहाली गरिदिन माग गर्दै बुधबार सर्वोच्च अदालत पुगेका छन् । अदालत पुगेर उनले आफू माओवादीमै भएको दाबी समेत गरेका छन् । दायर गरेको रिटमा नेता रायमाझीले आफू एमालेमा प्रवेश नगरेको जिकिर समेत गरेका छन्।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलासँगै तत्कालीन नेकपा पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा फर्किएपछि रायमाझी केपी शर्मा ओलीको नेकपा एमालेतिर लागेका थिए। ओली निकट रहेर मन्त्री बनेका रायमाझीसँगै लेखराज भट्ट र प्रभु साह पनि एमालेमै मिसिएका थिए। त्यस्तै अर्का नेता मणिचन्द्र दाहाल पनि एमालेमै समाहित भएका थिए।
पार्टी दुई भइसकेपछि एमाले रोजेकाहरुलाई नेकपा माओवादी केन्द्रले गत चैत २६ गते दल त्याग गरेको जानकारी संसद सचिवालयमा गराएर सांसद पद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यसको लामो समयपछि रायमाझी अदालत पुगेर आफ्नो सांसद पद जोगाइदिन याचना गरेका हुन्।
टोपबहादुरले माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र र प्रचण्डलगायतका नेताहरुको आलोचना र ओलीको बचाउ गर्दै आइरहेका छन् ।
टोपबहादुरले आफ्नो निवेदनमा आफू अहिलेसम्म एमालेमा औपचारिक रुपमा प्रवेश नगरेको बताएका छन्। ‘केपी ओली अध्यक्ष भएको नेकपा एमालेमा आजसम्म् म निवेदक औपचारिक रुपमा प्रवेश गरेको छैन। एमालेको पार्टीको सदस्यता लिएको छैन। मिति २०७८ असार २३ मा म निवेदकले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन। नेकपा माओवादी (एकता केन्द्र) को केन्द्रीय समिति सदस्यमा म रहेको छु। सो दुवै दलको कार्य समितिको प्रमाणित प्रतिनिधि यसै निवेदन साथ मैले पेश गरेको छु।’ उनले निवेदनमा भनेका छन्।
नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्रले आफूलाई कारबाही गर्दा कुनै स्पष्टीकरण नसोधेको उनको दाबी छ। ‘मलाई सफाईको मौका दिएको छैन। मलाई स्पष्टीकरण सोध मैले दिने जवाफबाट पार्टीले मलाई कारबाही गर्ने ठाउँ नरहने हुँदा मेरो आँखा छलेर मलाई स्पटीकरणको पत्र नदिई मलाई दिने भनी लेखिएको मेरो नामको पत्र निर्वाचन आयोगमा बुझाएको रहेछ। जुन मैले नक्कल सारी थाहा पाएको हुँ।’ उनले निवेदनमा भनेका छन्।
संसद् सचिवालयले उनीहरुलाई गत चैत २६ गते सांसद पदबाट हटाएको थियो । सांसद पदबाट हटाएको करिब ४ महिनापछि रायमाझी सर्वोच्च अदालत गएका हुन् ।