चार नेताले सर्वोच्चलाई भने: माओवादीमै फर्काएर भएपनि पद जोगाइदेउ
काठमाडौं । कहिले माओवादी केन्द्र अवाधानिक भएकाले खारेज गर्नुपर्ने माग राख्दै अदालत पुग्ने त कहिले माओवादी केन्द्र र त्यस पार्टीका अध्यक्ष प्रचण्डको खेदो खन्ने नेताहरू माओवादी केन्द्रमै फर्किने इच्छा राखेर सर्वोच्च अदालत पुगेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका चार नेता माओवादी केन्द्रमै फर्कन चाहेका छन् । उनीहरूले सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत दायर गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टीमा भित्राउन नचाहेका चार नेताहरू न्याय खोज्दै अदालतको ढोकामा पुगेका हुन् । नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अदालतमा रिट दायर गरेका छन् । ती नेताहरूले अध्यक्ष प्रचण्डलाई आफूहरू माओवादी केन्द्रमा फर्किन चाहेको सुचना पटक पटक पठाएका थिए ।
तर, प्रचण्डले उनीहरूलाई माओवादीमा ल्याउन नचाहेको कारण पछिल्लो समय उनीहरू झनै रुष्ट बनेका थिए । उनीहरूले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेर फर्किएका छन् ।
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसद्बाट पदमुक्त गरेको थियो ।
उनीहरूको सांसद् पद पुनर्बहाली भएको खण्डमा उनीहरू पुनः नेकपा (माओवादी केद्र)कै सांसद् रहनेछन् ।