टोपबहादुरको याचना: 'म माओवादीमै छु, एमालेमा गएको छैन' - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

टोपबहादुरको याचना: ‘म माओवादीमै छु, एमालेमा गएको छैन’



काठमाडौं- एमाले ओली समूहमा लागेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रकै सांसद भएको र एमालेमा प्रवेश नगरेको बताएका छन् भन्दै सांसद पदमा पुनर्वहाली गर्न माग गरेका छन्।

माओवादी केन्द्रले सांसदबाट हटाएको तीन महिनापछि टोपबहादुर सांसद पद बहाली गरिदिन माग गर्दै बुधबार सर्वोच्च अदालत पुगेका छन् । अदालत पुगेर उनले आफू माओवादीमै भएको दाबी समेत गरेका छन् । दायर गरेको रिटमा नेता रायमाझीले आफू एमालेमा प्रवेश नगरेको जिकिर समेत गरेका छन्।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलासँगै तत्कालीन नेकपा पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा फर्किएपछि रायमाझी केपी शर्मा ओलीको नेकपा एमालेतिर लागेका थिए। ओली निकट रहेर मन्त्री बनेका रायमाझीसँगै लेखराज भट्ट र प्रभु साह पनि एमालेमै मिसिएका थिए। त्यस्तै अर्का नेता मणिचन्द्र दाहाल पनि एमालेमै समाहित भएका थिए।

पार्टी दुई भइसकेपछि एमाले रोजेकाहरुलाई नेकपा माओवादी केन्द्रले गत चैत २६ गते दल त्याग गरेको जानकारी संसद सचिवालयमा गराएर सांसद पद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। त्यसको लामो समयपछि रायमाझी अदालत पुगेर आफ्नो सांसद पद जोगाइदिन याचना गरेका हुन्।

टोपबहादुरले माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र र प्रचण्डलगायतका नेताहरुको आलोचना र ओलीको बचाउ गर्दै आइरहेका छन् ।

टोपबहादुरले आफ्नो निवेदनमा आफू अहिलेसम्म एमालेमा औपचारिक रुपमा प्रवेश नगरेको बताएका छन्। ‘केपी ओली अध्यक्ष भएको नेकपा एमालेमा आजसम्म् म निवेदक औपचारिक रुपमा प्रवेश गरेको छैन। एमालेको पार्टीको सदस्यता लिएको छैन। मिति २०७८ असार २३ मा म निवेदकले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपिअनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन। नेकपा माओवादी (एकता केन्द्र) को केन्द्रीय समिति सदस्यमा म रहेको छु। सो दुवै दलको कार्य समितिको प्रमाणित प्रतिनिधि यसै निवेदन साथ मैले पेश गरेको छु।’ उनले निवेदनमा भनेका छन्।

नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्रले आफूलाई कारबाही गर्दा कुनै स्पष्टीकरण नसोधेको उनको दाबी छ। ‘मलाई सफाईको मौका दिएको छैन। मलाई स्पष्टीकरण सोध मैले दिने जवाफबाट पार्टीले मलाई कारबाही गर्ने ठाउँ नरहने हुँदा मेरो आँखा छलेर मलाई स्पटीकरणको पत्र नदिई मलाई दिने भनी लेखिएको मेरो नामको पत्र निर्वाचन आयोगमा बुझाएको रहेछ। जुन मैले नक्कल सारी थाहा पाएको हुँ।’ उनले निवेदनमा भनेका छन्।