माओवादी केन्द्रले भन्यो: लेटरप्याड, छाप र प्रचण्डको हस्ताक्षर दुरुपयोग भयो
काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै विज्ञप्ति जारी गरेको छ। माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।
माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटर प्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेको छ ।
केही अपराधिक, अराजक एवं प्रतिगामी तत्वहरुले माओवादीलाई बदनाम गर्ने उदेश्यले मन्त्रिमण्डल विस्तारबारे कुप्रचार गरेको भन्दै त्यसमा संलग्नहरूलाई कडा कारवाहीको माग गरेका हुन् ।
‘केही समययता यस किसिमका प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाममा गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरु गर्दै आइरहेका छन्’, माओवादीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘यस किसिमका किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु, र आम जनसमुदायमा समेत हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’
प्रचण्डको नाममा माओवादीको लेटरप्याडमा प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा अहिले त्यो पत्र भाइरल बनेको छ ।
