गठबन्धन बैठकमा एमसीसी र संघीयताको विरोध, गठबन्धन छाड्ने चेतावनी
काठमाडौं- बुधबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा चर्काचर्की भएको छ । नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधिबारे आलोचना गरेका थिए ।
देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा नेताहरूले आलोचना गरेका थिए । बैठकमा नेताहरूले देउवाले पुरानै शैलीमा जान खोजेको आरोप लगाएपछि उनले गल्ती स्वीकार गर्दै आइन्दा यस्ता गल्ति नहुने बताएका थिए ।
बैठकमा चित्रबहादुर केसीले भनेका थिए, ‘साथीहरू त सुध्रेलान भनेको फेरि उस्तै । एमसीसी कसरी पास गर्ने ? संघीयता कसरी जोगाउने यस्ता कुरामात्र आउन थाले । यसरी त सरकारलाई कसरी विश्वास गर्ने ? अहिले हाम्रो प्राथमिकता के हो ? मैले यही कुरा राखेको हुँ ।’
केसीले बैठकमा सरकार एमसीसी पारित गर्न अग्रसर हुने हो भने आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । बैठकमा राजमो अध्यक्ष केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
नेता केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेका थिए ।
‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्योमात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विस्वास गर्ने ?’केसीको प्रश्न थियो ।
उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।
‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौं’, केसीको भनाइ थियो ।