लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख



काठमाडौं-सरकारले दुईवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा माओवादीको सिफारिसमा अमिक शेरचन र गण्डकीमा कांग्रेसको सिफारिसमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो।

माओवादी नेता शेरचन यसअघि गण्डकी प्रदेशका प्रमुख थिए। माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले उनलाई गण्डकीमै प्रमुखमा रुपमा दोहोर्‍याउने गरि सिफारिस गरेको थियो। तर माओवादीको सिफारिस संविधानसँग बाझिएपछि उनलाई गण्डकीबाट लुम्बिनी लगिएको हो।

शेरचनलाई गण्डकीमा दोहोर्‍याउन संविधान अनुसार नमिलेपछि त्यसलाई सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यसचिव शंकरदास वैरागीसहित विज्ञलाई बालुवाटार बोलाएका थिए। गण्डकी प्रदेश प्रमुख नियुक्तिको सिफारिस असंवैधानिक भएपछि प्रधानमन्त्रीले छलफल गरेर शेरचनलाई लुम्बिनी र गुरुङलाई गण्डकीमा राख्ने निर्णय लिएका हुन्।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको स्थायी कमिटी बैठकले आफ्नो भागमा परेका प्रदेशमा प्रदेश प्रमुख नियुक्तिको लागि सिफारिस गरेको थियो। संविधानको धारा १६३ को उपधारा ४ मा एउटै व्यक्ति उही प्रदेशमा दोहोरिन नपाउने व्यवस्था छ।

मन्त्रिपरिषद बैठकमा माओवादी केन्द्रको यो सिफारिस असंवैधानिक भएको कुरा उठेपछि देउवाले मुख्यसचिवसहितका विज्ञहरुसँग बालुवाटारमा परामर्श गरेका थिए। यसअघि एउटै पार्टीको मुख्यमन्त्री र प्रदेश प्रमुख नबनाउने सहमतिअनुरुप गण्डकीमा माओवादी केन्द्र, लुम्बिनीमा कांग्रेसलाई प्रदेश प्रमुख दिने भनिएको थियो।

आजैको मन्त्रिपरिषद् बैठकले तत्कालीन ओली सरकारबाट नियुक्तमध्ये प्रदेश २ बाट राजेश झा अहिराज, गण्डकीबाट सीता पौडेल र लुम्बिनीबाट धर्मनाथ यादवलाई हटाएर गठबन्धनका दलबाट आएको सिफारिस अनुसार नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्ण लिएको थियो।