कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् बैठकका एजेण्डा - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् बैठकका एजेण्डा



काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज मंगलबार बस्दैछ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बिहान ९ बजे बस्न लागेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका कार्यक्रम नराख्ने निर्णय गरेका सभापति देउवाले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले निजी निवासमा बैठक डाकेका छन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन तयारीबारे नै बैठक केन्द्रित हुनेछ। कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ।

आजको छलफलमा एउटा एजेण्डा अब वडा अधिवेशन कहिले गर्ने भन्ने पनि हो । त्यस्तै आजको बैठकको एजेण्डामा रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले तयार पारेको प्रतिवेदन पनि हो ।

यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए। उक्त समितिमा पाँच हजार उजुरी परेका थिए। बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ।

क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। तर महाधिवेशनका प्राय: कार्यतालिका प्रभावित बनेका छन्।