ठाकुर समूहलाई अर्को झट्का: सांसदहरूको पनि पद गुम्ने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ठाकुर समूहलाई अर्को झट्का: सांसदहरूको पनि पद गुम्ने



काठमाडौं- निर्वाचन आयोगको निर्णयले महन्थ ठाकुर समूह ठुलो समस्यामा परेको छ । आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएसँगै महन्थ ठाकुर पक्ष समस्यामा परेको हो ।

लामो अन्तर्द्वन्द्वपछि सोमबार आयोगको निर्णय आएसँगै अब जसपामा महन्थ ठाकुर समूह रहने छैनन् । ४ असारमा यादव पक्षले दिएको निवेदन अनुसार मंगलबार आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले यादव समुहलाई आधिकारिकता दिँदै ठाकुर समुहलाई भने नयाँ दल दर्ता गर्न भनेको छ । यदि नयाँ दल दर्ता गरेको खण्डमा ठाकुर समुहका सांसदहरूको भने पद जानेछ ।

अन्तिम समयमा महन्थको पक्षमा अत्यन्त झिनो समर्थन रहेकाले पार्टी विभाजन गर्न पनि उनीहरूसंग सन्ख्या नपुग्ने देखिएको छ । यादवको निवेदन र नेतृत्वलाई आयोगले मान्यता दिएसँगै अब पार्टीले ठाकुर पक्षका नेताहरुलाई कारवाही पनि गर्न सक्छ ।

ठाकुर समुहसंग भएको एउटै विकल्प भनेको उनले नयाँ दल दर्ता गर्नु हो । विभाजनको संख्या समेत नपुगेपछि दल दर्ता गर्दा उनको र उनी पक्षधरको सांसद पनि गुम्ने छ ।

निर्वाचन आयोगमा हेड काउन्टका लागि पुग्दा यादव पक्षमा ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ जना रहेका थिए । ठाकुरको पक्षमा १६ जनाले मात्र हस्ताक्षर गरे । रेशम चौधरी भने तटस्थ बसे ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा २ मा केन्द्रीय समिति र संघीय संसदीय दलको ४० प्रतिशत सदस्य भएमा मात्र दल त्याग गरेको नमानिने उल्लेख छ ।

यही आधारमा अब ठाकुर पक्षसँग ४० प्रतिशत सदस्य नपुग्ने भएकाले नयाँ दल गठन गर्दा उनको सांसद पद गुम्ने भएको हो ।