गण्डकी सरकार गठनले कांग्रेसमा खैलाबैला - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

गण्डकी सरकार गठनले कांग्रेसमा खैलाबैला



काठमाडौं- गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तारले नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ । कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तारप्रति आपत्ति जनाउँदै कांग्रेसले अक्षम्य भूल गरेको बताएका छन्।

गण्डकी प्रदेश सरकारलाई पूर्णता दिँदा समावेशीता र दलित समुदायलाई प्रतिनिधित्व नगराएर पार्टीले अक्षम्य भूल गरेको उनले बताएका हुन्।

‘लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्न,’ कोइरालाले भने,‘तर, गण्डकी प्रदेश सरकारले पूर्णत पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधिलाई जसरी लत्याइयो, त्यो दुर्भाग्यपूर्ण हो। पार्टीले गरेको अक्षम्य भूल हो। दलित समुदायप्रतिको अपमान हो।

सामाजिक कुरीतिका विरुद्ध’ व्यवहारिक रूपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेश सरकार गठन प्रक्रियाले दुःखित बनाएको उनले बताका छन्।

‘सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरूको शीर निहुरिएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले लेखेका छन्।

सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटानमात्र नभएर व्यवहार र लोकतान्त्रिक आचरणसमेत रहेको बताउँदै उनले भोलि कुन मुखले उनीहरूसामु जाने हेक्का राख्न जरूरी रहेको जिकिर गरेका छन्।

‘भोलि कुन मुखले उनीहरूको अगाडि जाने? यो हेक्का राख्नु पर्दैन? कि एकपटक सरकारमा गएपछि सधैँलाई पुग्यो?,’ उनले भनेका छन्,‘सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटानमात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।’

भोलिका दिनमा यस्ता निर्णयहरू पार्टीका निम्ति निकै महँगो पर्नसक्ने उनले चेतावनी दिएका छन्।