केहि दर्जन बाहेक सबै नेपाली ओलीको साथमा छन्: केपी ओली - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

केहि दर्जन बाहेक सबै नेपाली ओलीको साथमा छन्: केपी ओली



काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले तीन करोड जनसङ्ख्यामध्ये केही दर्जन मानिसमात्रै आफ्नो बदनामीमा लागेको बताएका छन् ।

‘केपी ओलीलाई मुख छाडेर कसैको जीविका चल्छ भने म खुसी छु । थुप्रै तत्त्वहरू यसरी लागेका छन्, थुप्रो भनेको केही दर्जन हो । तीन करोड जनसङ्ख्यामा केही दर्जन मानिसहरू बदनामीमा लागेका छन्,’ अखिल नेपाल महिला सङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले भने,‘कहिलेकाहीँ भ्यागुतोले इनारको प्वालबाट माथि हेर्दा जति देखिन्छ, त्यसैलाई आकाश ठानेको हुन्छ । तर इनार को तल बसेको भ्यागुतोले त्यसको मुखबाट देख्ने जति आकाश मात्रै आकाश हुन्छ । उसले तल हेर्दा देखेको पानी मात्रै धर्तीमा पानी छ भनेर ठान्नु गलत हुन्छ ।’

माधव नेपालतर्फ सङ्केत गर्दै ओलीले भने, ‘केपी ओलीका सुन्ड मुण्डहरूले घर अगाडि आएर पख्लास् भने रे । यस्ता कुरा नगरे हुन्छ । केपी ओलीको साथमा रहेको कुनै झुन्ड होइन, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेको साथमा छ । देशको सबैभन्दा ठूलो जनसङ्ख्या केपी ओलीको साथमा छ ।’

माधव नेपालमाथि थप व्यङ्ग्य गर्दै उनले भने,‘ एक जनाले केपी ओलीलाई सुधार्न सकिनँ भनेर कविता लेख्नुभएछ । दया लाग्यो, माया लाग्यो । कपाल फुलेर हुँदो रहेनछ , दाह्री जुँगा फुलेर हुँदो रहेनछ, विवेकको परिपक्वता भएन भने, अरूका लैलैमा कुदाे भने ।’