प्रफुल्ल मुद्रामा पूर्व सहकर्मी बादल र विप्लवको भेट
काठमाडौं- नेकपा एमालेका नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । राजनीतिक भेटघाटलाई तीव्र बनाएका विप्लवले पूर्वासहकर्मी बादलसँग उनकै निवासमा पुगेर भेट गरेका हुन् ।
शनिबारै बिहान जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका विप्लव बादलसँग भेटघाटका लागि उनकै निवास पुगेका थिए। भेटमा विप्लव नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए।
बादल गृहमन्त्री भएकै बेला उनकै पहलमा विप्लव नेतृत्वको पार्टीले शान्तिपूर्ण राजनीतिमा फर्कन सरकारसँग सहमति गरेको थियो। तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएको विप्लव नेकपाले पछिल्लो समय आफूहरूसँग सरकारले गरेको सहमति पालनामा जोड दिँदै आएको छ।
जनयुद्ध कालका दुई सहयात्री बादल र विप्लवबीचको भेटमा राजनीतिक तथा पारिवारिक कुराकानी भएको बताइएको छ । लामो समयपछिको भेटमा दुवै नेता प्रफुल्ल मुद्रामा देखिएका थिए ।
असार ३० गतेदेखि निरन्तर राजनीतिक भेटवार्ता गर्दै आएका विप्लवले अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलगायतका नेताहरूसँग भेटघाट गरिसकेका छन्।