अब हरेक स्थानीय तहमा स्मार्टपालिका र कारखाना सँगसँगै
काठमाडौं । संघीयता आएसँगै स्थानीय तहलाई प्रविधिको पाटोमा सकृय बनाउने उदेश्यस्वरुप प्रविधिमैत्री पालिका बनाउन लागिपरेको स्मार्टपालिका र अनुभवमा आधारित वैज्ञानिक शिक्षाका क्षेत्रमा सक्रिय कारखाना एसिया अब हरेक पालिकामा सँगसँगै यात्रा गर्ने भएका छन्।
सुचना प्रविधिमा पँहुच पुर्याउँदै दैनिक सेवा प्रवाह घरबाटै गर्ने र कर, राजस्व तथा अन्य शुल्क डिजिटल रुपमा भुक्तानी गर्न मिल्नेसम्मका बिद्युतीय डिजिटल सुशासन प्रणालीहरु विकास गरि देशका १०० भन्दा बढी स्थानीय तहमा काम गरिसकेको स्मार्टपालिकाले अब भने थप नवीन सोचका साथ जनमैत्री सुशासन व्यवस्थापनको सुरुवात गर्ने भएको छ ।
सेल एप प्रालि, स्मार्टपालिका तथा कारखाना एसियाको संयुक्त प्रयासमा अब परम्परागत शिक्षालाई प्रयोगात्मक शिक्षामा रूपान्तरण गर्दै समाज र राष्ट्र निर्माणमा योगदान दिन सक्ने जिम्मेवार नागरिक बनाउने अभियानमा सघाउने सोचका साथ यो नयाँ थालनी गरिएको हो।
विगत केही वर्षदेखि वैज्ञानिक शिक्षालाई प्रबर्द्धन गर्दै प्रयोगात्मक सिकाइ प्रणाली विकास गर्नका लागि विभिन्न विद्यालय, कलेज लगायत शैक्षिक क्षेत्रमा हातेमालो गर्दै आईरहेको कारखाना र डिजिटल नेपाल बनाउने अभियानमा सक्रिय स्मार्टपालिकाको सहकार्यले नवीनतम रुपमा बालबालिकाहरुलाई समयसापेक्ष सीप सिकाउने अभ्यास गर्ने भएको छ।
त्रिपक्षीय सम्झौता हस्तान्तरण कार्यक्रममा चलचित्र अभिनेत्री तथा स्मार्टपालिकाकी ब्राण्ड एम्बेसेडर सुरक्षा पन्त, खल्ती डिजिटल वालेटका फाउण्डर अमित अग्रवाल, बाल उदय मासिक बालपत्रिकाका सम्पादक एवम् कवि नरेन्द्रकुमार नगरकोटी, टेक कम्युनिटी नेपालका फाउण्डर शशिकान्त सिटौला, जरा ग्रुप अफ कम्पनीका फाउण्डर श्याम बजगाईँ लगायतले नवीनतम सिकाइ सोचका बारेमा आफ्ना भनाई राखेका थिए।
कारखानाका सिईओ पवित्र गौतमले एकाईसौं शताब्दीका सीपहरुलाई व्यवहारिक र प्रयोगात्मक शिक्षा सहित जिम्मेवार डिजिटल नागरिक बनाउँदै विज्ञान, प्रविधि र नवप्रवर्तनसहितको उध्यमशील सोचका साथ स्थानीय तहमा सिर्जनात्मक कार्यहरु गर्न कारखाना तत्पर रहेको कुरा व्यक्त गरे।
सेलएपका सिइओ मनोज भट्टराईले यस किसिमको सामाजिक रूपान्तरणमा भुमिका खेल्ने सहकार्यका लागि सेलएप र स्मार्टपालिका सदैव तत्पर रहेको बताए । पालिका स्तरमा शिक्षा, बालबालिका लगायतका सबै शाखाहरूमा काम गर्ने र प्रविधिमार्फत सिकाई प्रक्रियामा ‘इम्प्याक्ट’ पार्ने किसिमका थप काम गर्ने आगामी योजना सुनाए ।
स्थानीय तह अन्तर्गत चाँगुनारायण नगरपालिकाले स्मार्टपालिकासँग सहकार्य गर्दै आईरहेको छ । ‘अब कारखानालाई पनि हाम्रो पालिकामा जोड्न हामी तयार छौ’ भन्दै नगरका सुचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले खुसी व्यक्त गरे।
युवा उध्यमशीलतासँगै प्रविधिको प्रयोग गर्ने एजेण्डामा स्मार्टपालिका तथा सेल एपले लामो समयदेखि समाजमा सकारात्मक उर्जा सिर्जना गर्ने कार्यहरु गर्दै आइरहेको छ।
यस अघि सेलएप र बाल उदयको सहकार्यमा ‘बाल उदय’ मोबाइल एप्लिकेसन सार्वजनिक भएको स्मरण गर्दै पालिका स्तरमा हुने सहकार्यले बालबालिकासम्म प्रत्यक्ष रूपमा पुग्नुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका छन् ।
कार्यक्रम कारखानाका सगुन खड्का तथा स्मार्टपालिकाका अक्षुण थापाले सञ्चालन गरेका थिए।