अध्यादेश ल्याएर एमाले फुटाउन खोजेको नेम्वाङको आरोप
काठमाडौँ- संघीय संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने चर्चा चलेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई संसद्ले बधाई तथा शुभकामना दिने क्रममा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले ध्यानाकर्षण गराएका हुन् ।
हल्ला चलिरहेको र त्यसमा आफूले विश्वास नगरे पनि प्रधानमन्त्रीलाई आफूले ध्यानाकर्षण गराउन चाहेको नेम्वाङले बताए । ‘संसद् अधिवेशन आजै अन्त्य गरेर अध्यादेश ल्याउने हल्ला चलिरहेको छ । विश्वास छैन त्यस्तो होला भनेर,’ उनले भने, ‘बाहिर त चर्चा छ, यो संसद् प्रतिनिधिसभा अधिवेशन आजै समापनमा जाँदैछ । प्रधानमन्त्रीले चाँडै अध्यादेश ल्याउनुहुन्छ भन्ने हल्ला छ । अहिलेको सरकारले त्यो गर्दैन भनेको छु । विगतमा अध्यादेश ल्याउँदा विरोध गरेकाले त्यसो गर्नुहुन्न भन्ने लागेको छ । प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रधानमन्त्रीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गर्न लागिएको भन्ने हल्ला चलेको नेम्वाङको भनाइ थियो ।
विश्वासको मत लिने क्रममा कांग्रेसले ह्वीप लगाएको पनि नेम्वाङको भनाइ थियो । सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीलाई विश्वास दिने क्रममा दलीय ह्वीप नलाग्ने आदेश दिएको थियो ।
मन्त्रिपरिषद् बिस्तार नगरेकोमा पनि नेम्वाङले चासो राखेका थिए । उनले मन्त्रालय नफुटाउन र संविधानको दायराभन्दा बाहिर गएर २५ भन्दा बढी मन्त्री नबनाउन सुझाव दिए । जतिसुकै अप्ठ्यारो भएपनि २५ भन्दा बढी मन्त्री बनाउन नपाइने संवैधानिक व्यवस्था नेम्वाङले स्मरण गराएका थिए ।
विगतको सरकारले गरेका कामलाई निरन्तरता दिन पनि उनले आग्रह गरेका थिए ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपनेता नेम्वाङले आगामी निर्वाचन समयमै गराउन पनि सचेत गराएका छन् । उनले देउवा सरकारको महत्वपूर्ण जिम्मेवारी निर्वाचन सम्पन्न गराउने रहेको बताए । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अबको डेढ वर्षमा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ । ‘यो सरकारको महत्वपूर्ण जिम्मेवारी निर्वाचन हो । यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्ने छ,’ नेम्वाङले भने, ‘प्रधानमन्त्रीज्यूलाई मात्रै सुन्नेगरी भन्न चाहन्छु, यो निर्वाचन नसार्नुहोला है, फेरि अप्ठ्यारो पर्ला ।’