ओलीको भविष्यवाणीप्रति प्रकाशमानले गरे कटाक्ष - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ओलीको भविष्यवाणीप्रति प्रकाशमानले गरे कटाक्ष



काठमाडौँ – नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कटाक्ष गरेका छन् । सिंहले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भनेर भनेको प्रति टिप्पणी गरेका हुन् ।

‘कुन प्रधानमन्त्रीले भनेको हो कुन्नी ? निर्वतमान हो जस्तो लागेको छ । शेरबहादुर देउवा नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भन्नु भएको थियो,’ उनले भने, ‘तर, अब झण्डै दुई तिहाइ. मत प्राप्त गरेको ओलीको सरकारले के गर्याे ? उहाँले आफ्नै घरलाई, व्यवस्थापन गर्न नसकेको, पार्टीलाई व्यवस्थापन गर्न नसकेको, जनतालाई दिएको बाचा पुरा गर्न नसकेको, विधिको शासनलाई मिचेर हुँकार गरेर छोडेर जानुपर्ने अवस्था आएपछि उहाँ शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भयो त ।’

सिंहले एमालेका संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङप्रति लक्षित गर्दै संविधानको धारा ७६(५) को व्यवस्थाबारे आलोचना गरे । ‘कानुनविद्, विद्वान भन्छ भन्ने बेलामा । संविधान बनाउँदा धारा (७६(५) राख्ने अहिले आएर संस्कार र भ्यालूको कुरा गरेर मिल्छ ?’ उनले प्रश्न गर्दै भने, ‘दोस्रो पटक यो लोगो लगाएर हामी यहाँ उभिएका छौँ । सत्तामा रहँदा कार्यपालिकाले अपनाउनुपर्ने कुरा नपाउने ? अहिले आएर जनताको जनादेश हैन परमादेश भनेर उहाँहरुले के पाउनुहुन्छ ? देउवा सविधानअनुसार प्रधानमन्त्री हुनु भएको छ । आफूले विधि र प्रक्रिया मिच्ने, दलहरुले संविधान रक्षाका लागि अघि बढ्दा । सत्तामा हुँदा एउटा कुरा, विपक्षमा हुँदा मूल्य मान्यता कुरा गर्ने ?’

सिंहले ओलीमाथि व्यंग्य गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ‘लक्की’ भएको पनि बताए । ‘एक किसिमले उहाँ (देउवा) लक्की नै हुनुहुन्छ,’ उनले भने, ‘ओलीले पानी जहाज पनि चलाई सक्नु भएको छ । चुच्चे रेलले दुवै छिमेकीलाई छोइसकेको छ । हाम्रो प्रधानमन्त्रीलाई काम गर्न चाहिँ सजिलै होला जस्तो छ ।’